उदयपुर / ७ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरका एक युवालाई जिल्ला अदालतले १० बर्ष कैद र पीडितलाई २० हजार रुपिँया क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको छ ।न्यायाधिश तिर्थराज केसीको एकल इजलासले आईतबार चौदण्डीगढी नगरपालिका २ माडिबासका रविन राईले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । २०७५ असार ७ गते बलात्कार गरेको आरोपमा राईलाई प्रहरीले असार १५ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
शौचालय गएको मौकाछोपी राईले चकलेट दिएर बलात्कार गरेको भन्दै पीडित परिवारले असार १५ गते इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएकोमा अदालतले साउन ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
बलात्कार गरेको कसुरमा पाँच बर्ष र बालिका बलात्कारमा थप पाँच बर्ष गरी १० बर्ष कैद हुने गरी फैसला सुनाइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
यस्तै एक २५ बर्षीया अशक्त (सुस्तमनस्थिति) युवतीलाई बलात्कार गरेको कसुरमा चौदण्डीगढी नगरपालिका ४ शनिबारेका ६६ वर्षिय जनक राईलाई जिल्ला अदालतले १० बर्ष कैद र पीडितलाई ५० हजार रुपिँया क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आईतबार राईले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । २०७५ बैशाख २० गते बलात्कार गरेको आरोपमा राईलाई प्रहरीले २१ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
घरमा कोही नभएको मौकाछोपी राईले बलात्कार गरेको भन्दै पीडित परिवारले बैशाख २१ गते इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएकोमा अदालतले जेठ १४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
युवतीलाई बलात्कार गरेको कसुरमा पाँच बर्ष र पीडित अशक्त युवती पनि भएकाले थप पाँच बर्ष गरी १० बर्ष कैद हुने गरी फैसला सुनाइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।









