उदयपुर / त्रियुगा नगरपालिकाले जिल्ला कारागार शाखा उदयपुरको कैदी बन्दीहरुलाई उज्यालोका लागि सोलार हस्तान्तरण गरेको छ । कैदी बन्दीहरु बिद्युत नहँुदा अध्यारोमा बस्न बाध्य भएकाले उनीहरुलाई उज्यालोमा राख्न त्रियुगा नगरपालिकाले सोलार दिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
कारागारमा परेको कैदी बन्दीलाई कैदीको जस्तो ब्यवहार नगरि उनीहरुलाई सुधार गृहमा राखिएको जस्तो अनुभव गराउन नगरपालिकाले सहयोग गरेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । सबै नागरिकले समान रुपमा बाच्न पाउँने अधिकार भएकाले कैदी तथा बन्दी जिवन बिताई रहेकोहरुले पनि उच्च स्तरको जिवनयावन गरुण भनि सोलार हस्तान्तरण गरिएको नगर प्रमुख चौधरीको टिप्पणी थियो । उनले भने कारागार पनि एउटा बिश्व बिद्यालय भएकाले त्यसबाट ज्ञान आर्जन गर्न सकिने छ । कारागारमा रहेका धेरै कैदी बन्दीहरु उद्यमी बनेको बनाउँदै त्यसले उनीहरुको घर गृहस्ती समेत चलाएका छन् । यहाँ रहेको कैदी तथा बन्दीहरुले ढाका टोपी, मुडा, सिलाई कटाई, फर्निचर लगायतको उद्यम सञ्चालन गरेर आफुलाई स्वरोजगार बनाउन सफल भएको छ ।
नगरपालिकाले करिब ५ लाख बराबरको ६ सय वाटको सोलार हस्तान्तरण गरेका हुन् । सोलार जडानपछि जिल्ला कारागारमा अध्यारोको समस्या नहुने जेलर सिताराम कार्कीले जानकारी दिए । भूकम्पले जिर्ण अवस्थामा पुगेको जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएको छ ।
जसमा ३ नाबालक, १० महिला सहित १६४ जना कैदी बन्दी रहेको जेलर सिताराम कार्कीले जानकारी दिए । त्यसमा ५ महिला कैदी ५ महिला बन्दी र ७३ पुरुष कैदी ६८ पुरुष बन्दी रहेको बताए । ५० जना कैदी बन्दी क्षमताको जिर्ण भवनमा तीन गुण बढी कैदी बन्दी राख्नु परेको जेलर कार्कीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया