एजेन्सी / नेपालीहरुको दोस्रो महान चाड तिहारमा गरिने लक्ष्मीपूजाको विशेष महत्व रहने गर्छ । यमपन्चकको तेस्रो दिन अर्थात् यसवर्ष कार्तिक २१ गते परेको लक्ष्मीपूजाको दिन विहान सवेरै उठ्ने र चोखो कपडा लगाएर दिनभर वर्त बसी साँझको समयमा महालक्ष्मीको पूजा गर्नाले जीवनभर सुख ,शान्ति र अधिक धनलाभ हुने मान्यता रहेको छ । लक्ष्मीपूजाको दिनलाई दिपावली पनि भन्ने गरिन्छ ।
माता लक्ष्मीलाई धनको प्रतिक मानिने भएकाले पनि यस दिन लक्ष्मीलाई प्रसन्न गराउने खालका विभिन्न पुजापाठ गर्ने गरिन्छ । सफा र उज्ज्यालो घरमा मात्र लक्ष्मीले वास गर्छिन भन्ने विश्वासको कारण घर भित्र वा बाहिर पूर्ण रुपमा सफा गर्ने गरिन्छ। त्यसकारण यस दिन गाउँ तथा सहरका सम्पूर्ण घरहरुमा झिलिमिली बत्ति र दियो बलि लक्ष्मीको बाटो उज्ज्यालो बनाई र घरलाई सुन्दर राख्ने गरिन्छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।
दिपावलीको दिन लक्ष्मीको पूजा गर्नु अगाडी उनको खुट्टाको पाइला बनाई घर वा कार्यालयको विभिन्न ठाउँमा पुर्याउने गर्नुपर्छ । आफूले बनाएको पाइला हुँदै लक्ष्मी घर भित्र पस्ने विश्वास रहीआएको छ । आज हामी तपाईहरुलाई मुख्यतया यसवर्ष लक्ष्मीको पूजा गर्ने उत्तम समयको बारेमा बताउन जाँदै छौँ ।
दिपावलीमा लक्ष्मीको पूजा गर्ने वा दियो बाल्ने कार्यका लागि साँझ ६ देखि ८ बजे भित्रको समय उत्तम मानिने गर्छ । यस अवधिभित्र हुने करिब १ घण्टा ५५ भित्र लक्ष्मीको पूजा सम्पन्न गर्नु निक्कै उत्तम मानिएको छ । यो साँझ आफ्नो समय अनुकुल परेर जतिबेला पनि महालक्ष्मीको पूजा गर्न सकिने भएपनि यो समय निकै शुभ हुनेछ ।
दिपावलीको दिन महालक्ष्मीको मात्र नभई धन्वन्तरी देवता कुबेर र भगवान गणेशको पूजा समेत महत्वका साथ गर्नुपर्ने हुन्छ । कुबेरलाई धनको देवता मानिने भएकाले विधिवत रुपमा लक्ष्मीको पूजा गर्दा समेत उनी प्रसन्न हुने मान्यता रहेको छ ।