मोरङ । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो ।


प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो ।
नेकपाका तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा लिलम बस्नेत, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, यसोदा अधिकारी, राजेन्द्रकुमार राई र बिमल कार्की समर्थक रहेको प्रस्ताव नै बहुमतले पारित भएको हो । यो प्रस्ताव पारित भएसँगै अव कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तरगत विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपासका क्षेत्रमा रहने भएको छ ।
विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो ।
राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया