काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकता भएर बनेको नवगठित समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघिय समाजवादी फोरमबाट १६ जना र नयाँ शक्ति पार्टी नेपालबाट ९ जना गरी २५ जना पदाधिकारी घोषणा भएको हो । एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रिय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो ।
पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ, भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । नवगठित पार्टीमा ८ जना उपाध्यक्ष र दुई जना महासचिव, तीन जना उपमहासचिव र चार जना सचिव रहेका छन् ।
उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।
यस्तै तत्कालिन समाजवादी फोरमबाट २ सय ८० जना र तत्कालिन नयाँ शक्तिबाट १ सय ५१ गरी नवगठित समाजवादी पार्टी नेपालमा ४ सय ३१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ । यस्तै घोषणा सभाले आगामी असोजको ७, ८ र ९ गते जनकपुरमा एकता अधिवेशन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया