धरान । सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।
आइतबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदेश राजधानीका लागि विराटनगर, इटहरी र धनकुटाबासीले आन्दोलन गरिरहेका बेला धरानवासी आन्दोलनमा उत्रिएका हुन् । प्रदेश राजधानी धरानलाई दिए २० विघा जग्गा उपलब्ध गराउने घोषणासमेत धरानकी कार्यबाहक मेयर भण्डारीले गरेकी छन् ।
नेकपाका नेता नारायण सुवेदीले प्रदेश सरकारले भौतिक सुविधा सम्पन्न धरानलाई राजधानी घोषणा गर्ने उपेक्षा गरेका कारण धरानवासी आन्दोलनमा होमिएको बताए ।
उनले अधिकांश प्रदेश सांसद विराटनगरको विपक्षमा देखिँदासमेत नेकपा पार्टी नेतृत्वले विराटनगर र इटहरीलाई जोडेर राजधानी घोषणा गर्ने तयारी गरेपछि धरानबासी आन्दोलिन हुनु परेको बताए ।
स्वास्थ्य, शिक्षा र भौगोलिक आधारमा सुविधा सम्पन्न बहुसांस्कृतिक र बहुधार्मिक धरान वातावरणीय हिसाबलेसमेत राजधानी बनाउन उपयुक्त रहेकाले धरानलाई राजधानी बनाउनुपर्ने संघीय लिम्बुवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमको भनाई छ ।
धरानबासीको टोलीले मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारी, नेकपा प्रदेश इन्चार्ज भीम आचार्य र कांग्रेस नेता राजीव कोइरालालाई भेटेर धरान राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया