
उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणाधीन पक्की पुल सम्झौता भएको ८ वर्ष बित्न लाग्सम्म पुरा हुन सकेको छैन । सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तरगत पर्ने उक्त पुल ०६८ सालमा सम्झौता भएर काम थालिएको थियो ।
३ वर्ष अवधिको सम्झौता अनुसार पुलको काम थालिएकोमा ६ वर्ष बित्न लाग्दासम्म पुरा नभएपछि स्थानीयबासी पुल बन्ने कुरामा आशंका गर्न थालेका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र कटारी र सिन्धुली सदरमुकाम दुधौली बजारबीच बाक्लो आउजाउ हुने नाकाको उक्त पुल अहिलेसम्म नबन्दा आउँदो वर्खामा पनि कमलाको कहर सहन तयार हुनुपर्ने स्थिति आउन स्थानीयबासीको अनुमान छ । स्थानीय उपभोक्ता कटारी २ त्रिबेणीका शंकर सिंहले ३ वर्षअघि बनिसक्नुपर्ने पुल यतिञ्जेलसम्म नबनेपछि आउँदो वर्खामा पनि पहिलेजस्तै स्थानीयलाई कमलाको कहर खेप्नुपर्ने खतरा रहेको बताए ।

निर्माण कम्पनीको लापरबाहीका कारण यतिका समयसम्म पुल नबन्दा त्यसको पीडा स्थानीयले भोग्नुपर्ने बाध्यता आईपरेको अर्का स्थानीय राजकुमार शर्मा बताउँछन् । उनले ठेकेदारको लापरबाहीले पुल बन्न ढिला भएको भन्दै अव त पुलै बन्ला कि नबन्ला भन्ने आशंका जन्माएको बताए । ‘६ वर्षअघि कमलामा पुल बन्ने भनेपछि बाहै महिना सिन्धुली जान आउन सजिलो हुने ठानेर हामी रमाएका थियौं’ उनले दुखेसो गरे ‘भरे त केको हुनु, ६ वर्ष भईसक्यो पुल बन्या होईन । अव त बन्छ बन्दैन शंका लाग्न थाल्यो ।’
३ वर्षअघि सम्झौताको पहिलो अवधि सकिएपछि सरकारले पटक पटक म्याद थपिदिएको उक्त पुल अझै नबनिसक्दा निर्माणाधीन मदन भण्डारी लोकमार्गको काममै अवरोध सिर्जना हुने देखिएको लोकमार्ग आयोजना कार्यालय गाईघाटले जनाएको छ । लोकमार्गअन्तरगत चतारादेखि सिन्धुलीसम्मका ४३ पुलमध्ये कमलाको भन्दा धेरै पछि थालिएका दुई दर्जन बढी पुल उहिल्यै बनेर प्रयोगमा आईसकेका छन् । तर, कमलाको पुल भने अहिलेसम्म पूर्ण नहुदा लोकमार्गकै काममा समस्या निम्निसक्ने कार्यालय प्रमुख (डिई) ललिजङ खनाल बताउँछन् । उनका अनुसार त्यो पुल सुरु गरेको धेरैपछि थालिएका लोकमार्गका अन्य थुप्रै पुलहरु सम्पन्न भईसकेका छन् ।
डिई खनालले पहिले पप्पु÷लुम्बिनी जेवीले जिम्मा लिएको पुलको काम सुरुमा पप्पुले गरिरहेको थियो । तोकिएको म्यादभित्र काम नसकेपछि पटक पटक म्याद थपिए पनि काम नहुदै सरकारले पछिल्लो समय पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गरेपछि पुलको काम थप अवरुद्ध हुन पुगेको हो । आफुमाथिको कारबाहीसँगै पप्पुले पुलको कामबाट हात झिकेपछि अव साझेदार कम्पनी लुम्बिनीले बाँकी काम गर्ने सहमतिबारे छलफल भईरहेको डिई खनालले बताए । ‘पहिले पप्पु र लुम्बिनीले काम गर्ने गरी सम्झौता गरेका रहेछन्’ खनालले भने ‘काम धेरै ढिला भएको पाइएपछि हामीले ताकेता गर्दा साझेदार कम्पनी लुम्बिनीले बाँकी काम गर्ने गरी छलफल अघि बढेको छ ।’
लोकमार्ग कार्यालयका इन्जिनियर गोविन्द दुमरुका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा कुल लागत इस्टीमेट ५३ करोड ७५ लाख ३ हजारको उक्त पुल निर्माणको जिम्मा लिँदै ०६८ असार २९ गते पप्पु÷लुम्बिनी जेवीले ३४ करोड ५ लाखमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । लागत इस्टीमेटभन्दा झण्डै १० करोड कम मूल्यमा कामको जिम्मा लिएको जेवीले कामै थाल्न ढिला गरेको र थालेपछि पनि निरन्तरता नदिदा यस्तो समस्या आईपरेको इन्जिनियर दुमरुको भनाई छ ।

आर्थिक वर्ष ०७२÷०७३ मा निर्माण कार्य सम्पन्न गरिसक्ने उक्त सम्झौताको अवधी लम्विदै २०७४ साउन १५ गतेसम्म पुगे तर पनि काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै २०७५ साल असार ३० गते सम्म सम्पन्न गर्ने गरी काम थाले तर पनि पुलले निर्माण अवरुद्धको अवरुद्ध रहयो । गत असारसम्म झण्डै ५० प्रतिशत काम सम्पन्न भएको पुलको काम त्यसयता अवरुद्धको अवरुद्ध रहेको दुमरुले बताए । ५ सय मिटर र १३ स्पानको पुलको काम रोकिन पुगेपछि स्थानीयलाई कमलाको कहर खेप्नुपर्ने समस्या त छँदैछ, मदन भण्डारी लोकमार्गको काममासमेत अवरोध आउने पीरलो रहेको दुमरु बताउँछन् ।
निर्माणको जिम्मा लिने जेवीमध्ये लुम्बिनीका प्रवन्ध निर्देशक विष्णु शर्माले भने यसैसाता काम सुचारु गर्ने र सकेसम्म चाँडै पुल निर्माण सम्पन्न गर्ने बताए । साझेदार कम्पनी पप्पुसँग मिलेर काम गर्ने जिम्मा लिएको र उसैलाई काम गर्न दिएकोमा काम ढिला भएर आप्mनोसमेत प्रतिष्ठामाथि आँच आउन लागेपछि अव आफैले बाँकी काम सक्ने तयारी गरेको शर्माले बताए । शर्माका अनुसार अहिलेसम्म ५५÷६० प्रतिशत काम सम्पन्न भईसकेको दावी गर्दै बाँकी काम तदारुक्ताका साथ गरेर छिटोभन्दा छिटो पुल बनाईसक्ने कम्पनीको योजना छ ।









