
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७९ सेवाग्राहीले सेवा पाएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविरमा वडा नं. १ मा २ सय पाँच जना र वडा नं. २ मा ५ सय ७४ जनाले सेवा पाएका छन् ।
शनिबार भएको वडा नं. २ स्थित मोथियाही स्कुलमा भएको शिविरमा ८ सय २५ जना भन्दा बढीले टिकट काटेपनि ५ सय ७४ जनालाई मात्रै चेक जाँच गरिएको थियो । टिकट काटेका बाँकीलाई त्रियुगा नगरपालिका वडा नं. ३ मा चेक जाँचको लागि जान अनुरोध गरिएको छ । स्वास्थ्य शिविर त्रियुगा नगरपालिका वडा नं. १ को जोगिदहबाट संचालन भैई बैशाख २८ गते वडा नं. १६ सुकौरामा समापन हुने छ ।

सेवा लिनेमा बढी महिलाहरु रहेको त्रियुगा नगरपालिका स्वास्थ्य सेवा शाखाका अवध नारायण चौधरीले बताए । त्रियुगा नगरपालिका १ स्थित जोगिदहको पहिलो दिनको स्वास्थ्य शिविरमा २८ जनाको मुटुको चेक जाँच गरिएको थियो भने ४४ जनाको सुगर, मृगौला तथा दिशा, पिसाव, रगत लगायत ल्याब टेष्ट गरिएको थियो । शिविरमा यौन रोग तथा प्रजन्न स्वास्थ्य सेवा, निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
६५ जना महिलाको पाठेघर खसेको जाँच गरिएको थियो । जाँच गरेको मध्ये तीन जना महिलाको पाठेघरमा रिङ अर्थात चुरा राखिएको थियो भने एक जना महिलाको पाठेघर खसेर बाहिर निस्किएकोले अप्रेशन गर्नको लागि रेफर गरिएको थियो । एक जना महिलामा पाठेघरको मुखको क्यान्सर संक्रमित भएको आशंका गरिएको थियो । शिविरमा स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत संचालन गरेको थियो । यस्तै ४० कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिएको थियो ।
यस्तै त्रियुगा नगरपालिका २ स्थित मोथियाहीमा भएको स्वास्थ्य शिविरमा ५३ जनाको मुटुको चेक जाँच गरिएको थियो भने ६६ जनाको सुगर, प्रेसर, मृगौला तथा दिशा, पिसाव, रगत लगायतको प्रयोगशाला जाँच गरिएको थियो । शिविरमा १०६ जना महिलाको पाठेघरको जाँच गरिएको थियो । जसमा दुई जनामा पाठेघरको मुखमा क्यान्सको आशंका गरिएको छ भने १० जनाको पाठेघरमा रिङ अर्थात चुरा लगाईएको थियो । यस्तै ३५ जना बालबालिका पुपोषितलाई सर्वोतम पिठो वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा कटारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. पवन शाह र १८ नं. बाहिनी अड्डा भुल्केका मेडिकल अफिसर प्रलाद महतोको टोलीले जाँच गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख बलदेव चौधरीले यस्ता किसिमका स्वास्थ्य शिविर नगरपालिकाका १६ वटै वडामा संचालन गर्ने र स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउने बताए । उनले ग्रामिण क्षेत्रका विपन्न, गरिव परिवारका महिलामा देखिएको पाठेघर खस्ने समस्या, जेष्ठ नागरिकहरुको मुटुको समस्या जस्ता रोगको निःशुल्क चेक जाँच गरिने नगर प्रमुख चौधरीले बताए । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षालाई सर्वशुलभ र सवैको पहुँच पुर्याउन नगरपालिका अहोरात्र खट्ने बताए ।
मेयरसँग जनता कार्यक्रममा त्रियुगा नगरपालिका १ अन्तर्गत रहेका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना अभियान पनि संचालन गरिएको थियो ।
आज त्रियुगा नगरपालिका ३ स्थित रामजानकी मावि मोतिगडामा स्वास्थ्य शिविर हुने छ । त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीका अनुसार विहान ८ बजेबाट स्वास्थ्य शिविर संचालन हुने र स्वास्थ्य शिविरमा करिव एक हजार भन्दा बढीले सेवा पाउने जानकारी गराए ।
वडा भवनको शिलान्यास
त्रियुगा नगरपालिका २ स्थित मोथियाहीमा वडा कार्यालय भवनको शिलान्यास पनि गरिएको छ । स्थानीय सारदा कुमार कार्की र लुराई मियाले वडा कार्यालयलाई उपलब्ध गराईएको २ कट्ठा ५ घुर जग्गामा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीद्वारा शिलान्यास गरिएको थियो । वडा भवन निर्माणको लागि कार्कीले १ कट्ठा ५ घुर र मियाले १ कट्ठा जग्गा दान गरेको थियो ।
यस्तै मेयर चौधरीले सहरी स्वास्थ्य क्लिनिकको समेत उद्घाटन गरेका थिए । ६ लाखको लागतमा निर्मित शहरी स्वास्थ्य क्लिनिकको जनतासँग मेयर कार्यक्रम अन्तर्गत शिविरको शिलशिलामा उद्घाटन गरिएको थियो ।









