
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको सञ्चालक समितिको सदस्यमा ७ जना नियुक्ति भएका छन् । उद्योगको संचालक समिति सदस्य (वोर्ड मेम्बर) मा सुभाष राउत, पदम दाहाल, सम्झना पाख्रिन, नरेश ढकाल, महेशलाल यादव, देवी बराल र कृष्णचन्द्र मण्डल नियुक्त भएका छन् । राउत, दाहाल र पाख्रिन उदयपुरका हुन भने ढकाल काठमाडौं, यादव धनुषा, बराल इलाम र मण्डल सप्तरीका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री स्तरको मिति २०७५÷१२÷२९ गतेको निर्णय अनुसार ७ जना संचालक समिति सदस्यको न्युक्ति गरेको हो । संचालक समितिको सदस्यहरुको २०७६ बैशाख २ गतेबाट लागू हुनेगरी ३ वर्षको लागि नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
राउत यस अघि सञ्चालक समितिमा रहि काम गरेको अनुभव छ । स्थानीय निर्वाचनको समयमा उनले सदस्य पदबाट राजीनामा दिएका थिए । राउत तत्कालिन नेकपा एमाले युवा संघ निकट, दाहाल तत्कालिन नेकपा माओवादी केन्द्र निकट मजदुर युनियनमा आवद्ध थिए भने पाख्रिन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की उदयपुर नेतृ हुन ।
यस अघि मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदको लागि ५ जना उम्मेदबारको सर्टलिष्ट सार्वजनिक गरिसकेको छ । सर्टलिष्टमा अनिल कुमार झा, डा. जनक बहादुर चन्द, तारानाथ पौडेल, रामबाबु साह र रामाधिन यादवको नाम सार्वजनिक गरेको छ । उनीहरुको फाइनल व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण र अन्तर्वाता बैशाख ५ गते हुने छ ।









