उदयपुर । सरकार र डा. गोविन्द केसी विच १५ औ अनसनको क्रममा भएको सम्झौता अनुसार मेडिकल कलेज स्थापनाको माग गर्दै उदयपुरको कटारी नगरपालिकाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
मेडिकल कलेजलाई आबश्यक पर्ने जग्गा निःशुल्क उपलब्ध गराउने नगरपालिकाको निर्णयसहित मेयर ज्ञानेन्द्रकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमै भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिब तथा उदयपुर क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य शुरेशकुमार राई र नगर क्षेत्रका राजनीतिक दलका नेतासहितको टोली लिएर प्रधानमन्त्री भेटन पुगेका मेयर श्रेष्ठले सबै हिसावले आफ्नो नगर क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न उपयुक्त रहेको परिकल्पनासहितको ज्ञापनपत्र बुझाएको बताए ।
जिल्लाका ८ वटा स्थानीय तहमध्ये कटारीसहित बेलका, चौदण्डीगढी नगरपालिका, गाउँपालिकातर्फ रौतामाई, उदयपुरगढी, ताप्लि र लिम्चुङबुङ गरी ७ वटा स्थानीय तहको मेडिकल कलेज स्थापनाका लागि आफ्नो नगरपालिकालाई समर्थन रहेको उनले बताए ।
सदरमुकामस्थित त्रियुगा नगरपालिकावाहेक सबै स्थानीय तहले लिखित पत्र पठाएर कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाका लागि सघाउने र आफ्नो पक्षबाट कुनै दाविसमेत नगर्ने गरी समर्थन गरेको पत्र देखाउँदै मेयर श्रेष्ठले बताए ।
जिल्लाका वाहेक सोलु, ओखलढुगां, खोटाङ, सिन्धुली गरी १५ वटा स्थानीय तहको समर्थन रहेको उनले बताए । उनले भने, ‘मेडिकल कलेज स्थापनाका लागि हामीसँग प्रसस्तै सरकारी जग्गा छ, स्थापनाका लागि जिल्लामा सबैभन्दा अगाडी हामीले नै निर्णय गरेका हौ र पायक पर्ने स्थानीय तहसँग पनि समर्थन मागेका छौ र दिएका पनि छन् ।’
विकास निर्माण र अधिकार जति सदरमुकाममा मात्र केन्द्रित हुनुभन्दा पनि विकेन्द्रिकरणको सिद्धान्त अपनाउनु राम्रो हुने उनको भनाई छ । ‘जिल्ला अस्पतालदेखि लिएर सबै सरकारी अड्डा त्यहीँ, विकास पनि त्यही,’ मेयर श्रेष्ठले भने, ‘सबै सुबिधा एकै ठाउँमा चाहिने र उपलब्ध गराउने हो भने किन चाहियो संघिय शासन व्यवस्था ।’
सगरमाथाको प्रवेशद्धार उदयपुरको पश्चिमी र उत्तरीभेग, ओखलढुंगा, सोलु, खोटाङ, प्रदेशनं २ को सिरहा, सप्तरी, धनुषा, महोत्तरी र प्रदेशनं ३ को सिन्धुली जिल्लालाईसमेत पायक पर्ने भएकाले कटारी नगरपालिका नै उपयुक्त रहेको उपमेयर भिमकुमारी राउतले बताईन् ।
मेडिकल कलेज स्थापनासँगै मेयर श्रेष्ठले औद्योगिक करिडोर र एयरपोर्ट निर्माण सम्बन्धि मागपत्र समेत पेस गरेका छन् । मारुती र कसमस सिमेण्टको चुनढुंगा ढुवानीमा प्रयोग हुने टिफरले सिद्धिचरणराजमार्गको मिर्चैया–कटारी–घुर्मि सडकखण्ड जिर्ण बनाएकाले विकल्पका लागि औगोगिक करिडोर निर्माणमा सहयोग गरिदिन अनुरोध गरिएको मेयर श्रेष्ठले बताए ।
२५ किलोमिटर लम्बाई रहने औधोगिक मार्ग कटारी नगरपालिकाको हडियाबाट सुरु भई सिरहाको चौहर्वामा टुगिंने गरी प्रस्ताव गरिएको छ । त्यसैगरी सिन्धुलीको दुधौली नगरपालिका र उदयपुरको कटारी नगरपालिकाकोविच सिमानबाट सञ्चालन हुने गरी एयरपोर्ट निर्माणकोसमेत माग गरिएको उनले बताए ।
यसअघि डा. केसी र नेपाल सरकारविच भएको सम्झौताअनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन कार्य गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वनेको सरकारी कार्यदलले तीन दिन लगाएर त्रियुुगा र कटारी नगरपालिका आसपासका क्षेत्रको स्थ्लगत सम्भाव्यता अध्ययन गरेको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सेवेदीको संयोजकत्वमा गठित कार्यदल स्थलगत अध्ययन र छलफलपछि फर्किएको थियो । सरकारले इलाम, पाँचथर मध्ये एक स्थानमा, डडेलधुरा, डोटी मध्ये एक र उदयपुरमा एक गरि पाँच जिल्लाको तीन स्थानमा सम्भाव्यता अध्ययन गरेको थियो ।
नगरसभाको निर्णय
ग्रामिण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ । कटारी नगरपालिकाको गत पुस २८ गते सम्पन्न तेस्रो नगरसभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले वडा नम्बर ४ को जहडी, वडानं ५ को गैडाआहाल, वडानं ३ को ताराघारी र वडानं २ को मारुती सिमेन्टको चुनढुङ्गा भण्डार गरेको स्थान आसपासको क्षेत्र मध्ये जुनसुकै ठाउँमा पनि जग्गा निशुल्क उपलब्ध गराउन सक्ने गरी नगरसभाले निर्णय गरेको मेयर श्रेष्ठले बताए । ६ वटा जिल्लालाई छोएको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापना हुने हो भने धेरै सर्वसाधरणले सेवा पाउनेमा आफुहरु विश्वस्त रहेको मेयर श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया