उदयपुर / नक्कली जन्मदर्ता बनाएको आरोपमा सर्वोच्च अदालतका न्यायाधिशका पत्नी पक्राउ परेका छने । पक्राउ पर्नेमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत चौहान रहेकी छिन् । आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजु भाउजुलाई सोमबार पक्राउ परेका हुन् ।
ललिता राउत चौहान, बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलसमेतले मिलेमतो तथा षड्यन्त्र गरी कटारी नगरपालिका ३ बाट गत असोज १० र ११ गते बाबु प्रकाशमानसिंह राउत, आमा ललिताकुमारी राउत (चौहान) बाजे बलबहादुर राउत भनि किर्ते ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्म दर्ता बनाईदिएको आरोप छ । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताए ।
ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहान पक्राउ पक्राउ परेका छन् । ललिता राउतकी अर्की भाउजु भोजकुमारी पोखरेल भने फरार छिन् ।
न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । सोमबार पक्राउ गरेपनि अदालतबाट म्याद लिएपछि बुधबार पक्राउ परेको जानकारी दिइएको हो । उनीहरुलाई अनुसन्धानको लागि ७ दिनको म्याद दिईएको छ ।
अर्कैलाई बाबुआमा कायम गरेर जन्म प्रमाणपत्र दिने काठमाडौं मेडिकल कलेजलाई समेत प्रहरीले अनुसन्धानमा तानेको छ ।
यसैबीच, कटारी नगरपालिका ३ को वडा कार्यालयले किर्ते गरी जन्मदर्ता गराएको जनकारीपछि जन्मदर्ता बदर गरेको छ । किर्ते गरी अर्काको बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामबहादुर पोखरेलले बताए ।
न्यायाधीश राउतले पनि श्रीमतीले सोधखोज नै नगरी दाजुभाउजुको संलग्नतामा हस्ताक्षर र ल्याप्चेसमेत किर्ते गरेर अर्काकै बच्चालाई जन्मदार्ता गराएको बताए । उनले यो प्रकरण आफूविरुद्ध षड्यन्त्र गरेर फसाउन खोजिएको बताए । अस्पतालबाट पनि जाली बर्थ सर्टिफिकेट बनाएछन् । जन्मदर्ता पनि नक्कली गरेछन् ।









