काठमाडौँ – जनमत पार्टीका संयोजक डा. सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर आलोचना गरेका हुन्।

आइतबार बेलुका बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्वको प्रदेश सरकार भ्रष्ट भएको टिप्पणी गरेका छन्।

उनले पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०-२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्न गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘बाराका हुरीपीडित जनताहरूलाई १०–२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ।’

उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबैकाम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन्।

‘मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन।’