काठमाडौ । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ । जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ ।

पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढी नेताकार्यकर्ता जिम्मेवारीविहीन छन् । नेकपाको एकता ३ जेठमा भएको थियो । त्यसयता नेकपाले केन्द्र र प्रदेश कमिटी मात्र गठन गरेको छ ।

जिल्ला र स्थानीय तहसम्म एकता टुंग्याउन सकेको छैन । जिल्ला अध्यक्ष र सचिवको टुंगो केन्द्रले लगाउँदा स्थानीय तहको एकता पनि टुंगिने गरी काम भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङले स्थानीय तहमा एकताका लागि दु्रत गतिमा काम भइरहेको बताए । उनले केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुंग्याउँदासम्म स्थानीय तहको एकता टुंगोमा पुर्‍याइने बताए ।

‘जिल्ला अध्यक्ष र सचिव चयनमा प्रक्रिया अड्किएको हो। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केलगत्तै टुंगिन्छ,’ नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले भने, ‘अधिकांश स्थानीय तहमा एकता प्रक्रिया टुंगिसकेको छ । जिल्ला अध्यक्ष र सचिव चयन हुदाँसम्म सबै स्थानीय तहमा टुंगिन्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया