उदयपुर । शुक्रबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । उदयपुरको त्रियुगा नगरपालिका—२ स्थित पिपल चौकमा भव्य कार्यक्रम चलिरहेछ ।
कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका देखिन्थे । कार्यक्रमस्थलबाट करिब दुई किलोमिटर तल बोटे टोलको त्रियुगा नदी किनारमा रहेकी लिला बोटलाई दिवसबारे कुनै जानकारी छैन । चासो पनि छैन । उनी एक धुनमा हातमा बेल्चा लिएर गिट्टी चालिरहेकी छन् । एक दिन मात्रै पनि गिट्टी चाल्न छुटाइन् भने उनको साँझ बिहान चुलो बल्दैन । ‘घरले जा जा र वनले आइज आइज’ भन्ने बेलाको उमेरमा पनि उनको दैनिकी फेरिएको छैन ।
शुक्रबार दिउँसो त्रियुगा नदी किनारमा गिट्टी चाल्दै गरेको अवस्थामा भेटिएकी उनले अहिलेसम्म महिला दिवसबारे अहिलेसम्म नसुनेको बताइन् । ‘खै हामीलाई यो दिवसबारे कसैले केही भन्दैनन, हामी त सधैं यहीमा काममा हुन्छौं,’ उनले भनिन, ‘यो काम गरिएन भने माम पाईदैन ।’
यस्तै त्रियुगा नदीमा बालुवा चालिरहेका आमा डम्बर कुमारी बोट र छोरा १६ वर्षिय पर्वत बोटलाई पनि श्रमिक महिला दिवसको बारेमा जानकार नरहेको बताईन् ।
त्रियुगा नदीमा काम गर्ने महिला र बालबालिकाको संख्या उल्लेखनिय रहेपनि सरोकारबालाहरु यस विषयमा जानकार नरहेको गिट्टी बालुवा चालिरहेको रमा बोटले बताईन् । उनले भने–‘मैले १२ वर्षको कलिलो उमेरबाट गिट्टी बालुवा चाल्न शुरु गरे तर अहिले ४१ वर्ष पुगियो, हातमा किताव कापी लिने समयमै मेरो परिवारले मलाई गिट्टी बालुवा चाल्न त्रियुगा नदीमा छोडि दिनु भयो, आज यही त्रियुगा नदी मेरो लागि हात मुख जोर्ने स्रोत बन्यो र यस पेशालाई छोडु भन्ने अरु अन्य पेशा केही छैन ।’
यस वर्षको १०९ औं श्रमिक महिला दिवसको दिन भेटिएका यी महिलाहरुको वास्तविकताको कथाहरु हुन् । त्रियुगा नदीमा सयौंको संख्यामा गिट्टी र बालुवा चालिरहेको देखिन्थे । हजारौको संख्यामा रहेका महिला निर्माण मजदुरहरु अरुको घर बनाउनमा व्यस्त देखिन्थे । उनीहरुलाई महिला श्रमिक दिवस के हो थाह छैन् । उनीहरुलाई काम र दामसँग मात्रै मतलव राख्दछ, जसले विहान र बेलुकाको छाक टार्न मद्दत गर्दछ ।
वास्तविक श्रमिक महिलाहरु भन्छन्, महिलाका नेता हुँ भन्नेहरुलाई वास्तविक श्रमिक महिलाको पीडा के थाह, जसले आज श्रमिक महिला दिवस भनेर चर्का भाषा गरिरहेका छन्, उनीहरु आफु जस्ता हजारौं श्रमिक महिला मुक्तिको लागि आएको पैसाले ठूला ठूला होटलमा सेमिनार, गोष्ठी, अन्तरक्रिया र भाषणमा मात्र सिध्याउने गरेको आरोप लगाईन् । हामीहरु कुनै महिला अधिकारको आन्दोलन गर्नु पर्यो भने मात्रै भिड जम्मा गर्ने बेलामात्रै चाहिएको हो अरु बेला त ? अवसर पाउने बेलामा लात हान्छन्, सर ।

नारी दिवसको दिन निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने मदन भण्डारीमा पसिनाको धारा चुहाउँदै दाङकी अन्जु चौधरी श्रीमानसँगै बेल्चा तानिरहेकी भेटिन । सडक निर्माणका लागि गिट्टी, बालुवा र सिमेन्टलाई मिसाई रहेकी थिईन । उनलाई पनि श्रमिक महिला दिवसको बारेमा थाह भएन । उनीहरुसँग प्रश्न गर्दा श्रमिक महिला दिवसको बारे थाह छ ? भनिरहदाँ श्रमिक महिला दिवसको बारेमा आफूहरुलाई थाह नभएको बताईन् । चौधरीले भनिन्, ‘सँग सँगै काम गर्ने श्रीमानको दैनिक ज्याला ७ सय, मेरो ५ सय मात्र पाइन्छ, नारी दिवसको कुरा गर्नेले समान ज्यालाको खोई कुरा गरेको ? प्रश्न तेस्राईन ।’
श्रमिक महिला दिवसकै दिन त्रियुगा नगरपालिका वडा नं.–३ मोतिगडामा काम गरिरहेका कमला मगरलाई सोधेका थियौं । श्रमिक महिला दिवस के हो भन्दा, पहिले त आफुलाई श्रमिक महिला दिवसको बारेमा थाह छैन् तर दोस्रो काम गरेर नखाउँ भने बालबच्चा भोक भोखै मर्छ । काम गरेरै खानु पर्यो नी, अनि पो संघ संगठनको बारेमा बुझ्ने, सर ।
श्रमिक महिलाहरु बताउँछन्, हामीले चार पाँच तल्ला सम्म घर बनाउने मात्र काम गर्छौ तर तिनै नवनिर्मित घरमा बस्ने महिलाहरुले श्रमिक महिलाको नाउँमा राजनीतिक गर्ने गरेको आरोप लगाईन । उनीहरुले ठूलठूला भाषणमा महिला र पुरुष बराबरी भनेपनि व्यवहार र गराईमा फरक भएको बताईन् ।

दैनिकी रोजगार गर्ने महिलाहरुलाई न श्रमिक महिला दिवसले छुन्छ, न शुक्रबार र शनिबारको विदाले छोएको बताईन् । हामीलाई सार्वजनिक विदा कस्तो हो, त्यो पनि थाह छैन, कति घण्टा काम गर्ने, कति घण्टा आराम गर्ने त्योपनि थाह नभएको श्रमिक महिला देवकी चौधरीले बताईन् । उनले भनिन्, ‘हामीलाई न त ठेक्केदारले पेन्सन दिन्छन्, न भत्ता दिन्छन् । न औषधि उपचारको व्यवस्था हुन्छ । हामीले दिनभरी काम गरेपनि चार सय देखि पाँच सयभन्दा बढी आउँदा पनि आउँदैन ।’
पारिश्रममै विभेद रहेको भन्दै चौधरीले यसको बारेमा न श्रमिक महिला नेताले कुरा गर्दछन न कुनै संघसँस्थाले भन्दै दुखेसो समेत गरिन । यसरी दुखेसो पोख्ने चौधरी मात्र होईनन खोज्ने हो भने सयौं श्रमिक महिला रहेका छन् । अहिले ठूला उद्योग भन्दामा होस वा अन्य क्षेत्रमा मजदुरी गर्ने महिला र पुरुषमा पारिश्रमिकमै विभेद छ । त्यो न कुनै संविधानमा लेखिएको छ ।
पूँजीपति वर्गका विरूद्ध श्रमिक महिलाहरूले गरेको वलिदानीपूर्ण संघर्षलाई साम्राज्यवादी लगानीमा संचालित एनजीओ, आईएनजीओहरूले महंगा पहिरनमा सजिएका महिलाहरूलाई जम्मा गरेर श्रमिक महिला दिवसलाई फगत नारी दिवसको रूपमा मनाएर वास्तविक श्रमिक महिला आन्दोलनलाई कमजोर पार्ने प्रयत्न भएको बताउने पनि धेरै महिलाहरु भेटिए ।

महिला तथा एनजीओहरूले नै जसले महिलाहरूलाई शोषण गर्नमा लागि परेका छन् वा शोषित बनाई रहन जोड दिइरहेका छन । उनीहरूले नै महिला अधिकारको कुरा उठाउँछन् । अनि कसरी श्रम गर्ने महिलाले यस दिवसको सार्थकता पाउलान ?
पुरूषले कमाउने र महिलाले बसेर खाने भन्ने निकम्मा प्रवृतिबाट सिङ्गो समाजको आधाभन्दा बढी जनसंख्या भएको श्रम शक्ति मध्ये आधिकाशं अनुत्पादक बनिरहेको छ । श्रममा भाग लिने महिलाहरूले श्रमको न्यायोचित प्रतिफलको माग गर्नु नै महिला अधिकार हो, जानकारहरु बताउँछन् ।









