काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दै प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको जिकिर गर्नु भएको छ ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सोमबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह«ास, प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत्पन्न हिनताबोध र राष्ट्र दिनप्रति दिन कमजोर बनिरहेको उल्लेख गर्नु भएको छ । उहाँले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हुन नहुने र दण्डहिनता एवं विधिविहीनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझा साझा सबै नेपालीको पहुँचमा हुनु पर्छ भन्ने आफ्नो मान्यता रहेको पनि सन्देशमा उल्लेख गर्नु भएको छ ।
शुभकामना सन्देशमा अगाडि भनिएको छ ‘ हाम्रा जिजूबुबा राष्ट्रपिता त्रिभूवनसहित प्रजातन्त्रको निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौ, हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो, सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’
शुभकामना सन्देशमा सनातनिक धर्म, संस्कृति र आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रक्रियाबाट आक्रान्त भएको कहालीलाग्दो दुःखद अवस्था देखा परेको उल्लेख गर्दै पूर्व राजा शाहले यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानु पर्छ भन्ने आफ्नो दृढ धारणा रहेको उल्लेख गरेका थिए ।
शुभकामना सन्देशमा पूर्व राजा शाहले नेपालको भू राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै नेपालले नेपालको परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा नेपालप्रतिको आधारभूत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नु पर्ने पनि उल्लेख गरेका हुन् ।

यस्तो छ शाहले ६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको विज्ञप्ति

नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,

प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं ।

हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै आउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।

आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ । यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्हिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूंचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो ।

त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको छ । त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।

नेपालको भु राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा हामीप्रतिको आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नू पर्दछ ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

तपाईको प्रतिक्रिया