उदयपुर, सप्तकोसी नदी किनारामा बसोबास गर्ने सर्बसाधारणको प्रमुख पेसा नै बाँसको व्यापार बनेको छ । घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषी पेसाबाट हुने सानु आम्दानीले परिवारको खर्च धान्न नसकेपछि उनीहरुले ज्यान जोखिममा राखेर सप्तकोसीको बाटोबाट बाँसको ब्यापार गर्दै आएका हुन् ।
उनीहरु उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरी जिल्लाको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदीमा पाहाडि क्षेत्रबाट बाँस बगाएर सुनसरीको चताराघाटसम्म बिक्रीका लागि ल्याउने गर्छन् । “कहिलेकाही त कोसीको भेलमा डुबिन्छ जस्तो लाग्छ” उदयपुरको बेलका नगरपालिका ६ कटुन्जेबबलाका रत्नसेर राई भन्छन्,“ तर आप्mनु र बालबच्चाको बिहान बेलुकीको भोक टार्ने समस्याले गर्दा ज्यान जोखिममा राखेर यो काम गरेको छु ।”
कमजोर आर्थिक अबस्थाकै कारण बिगत ५ बर्ष अघिदेखि बाँसको ब्यापार गर्दै आएका खोटाङ्गको फाक्टाङ्गका पूर्णबहादुर खत्री भन्छन्, “ पाहाडि क्षेत्रका गाउँबस्तीबाट सस्तो मूल्यमा बाँस किनेर कोसीको बाटो ल्याई बिक्री गर्ने गरेको छु ।” आफैंले ढुवानी गरी चताराघाटसम्म ल्याएर बिक्री गर्दा नाफा राम्रो भएपनि बाँस बगाउदा आप्mनो ज्यान भने सधंै जोखिममा पर्ने उनको भनाई छ ।
रत्नसेर र पूर्णबहादुर मात्र होइन, घरको कमजोर आर्थिक अबस्था, स्थानीय रोजगारीको समस्या र परम्परागत खेती पेसाप्रतिको बिकर्षणका कारण कोसीमा बाँस बगाएर रोजगारी गर्नेहरुको सङ्ख्या हिँजो आज दैनिक रुपमा बढिरहेको छ । कमाई राम्रो भएपनि ज्यान खतराको समस्या भने सबैको छ ।
“जोखिमपूर्ण रुपले बाँसको ब्यापार गर्नु रहर होइन, बाध्यता हो” बेलका नगरपालिका ७ मैनामैनीका हर्कबहादुर राई भन्छन्, “ एकातिर घरको आर्थिक अबस्था कमजोर छ भने अर्कातिर बेरोजगारी समस्या अनि के गर्ने ?” घरमा त्यत्तिकै बस्नु भन्दा कमाउनलाई केही गरौं भन्दै बाध्यताबस् बाँसको व्यापारमा लागेको उनको भनाई छ ।
उनीहरुले पाहाडि गाउँ बस्तिबाट प्रति घना ५० रुपैयाँमा किनेर करिब सय घनासम्म बाँसलाई एउटै चाङ्गमा बाधेर कोसीमा बगाउदै चताराघाटसम्म ल्याउने गर्छन् । चतराघाटमा ल्याएपछि बाँस प्रति घना २ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । यसरी तीनचार जनासम्म मिलेर ल्याउँदा एकसातामा १२ हजार रुपैयाँसम्म कमाउन सक्ने सिद्धिपुर ४ का गणेश केसीले बताए ।









