उदयपुर, नेपाली काँग्रेसको अहिलेको सक्रियता राजा ल्याउने दाउँ रहेको संघिय समाजवादी फोरम नेपालका एक नेताले आरोप लगाएका छन् । उनीसंगको राजनीतिक समय सामयिक विषयमा नागरिक बहस डट कमले गरेको कुराकानीमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रचार प्रसार समितिका सदस्य रामप्रसाद रिजालले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता राजा ल्याउन बढेको बताए । उनले नेपाली काँग्रेसका सभापति देउवा राजावादी निकट राष्ट्रिय प्रजातान्त्र पार्टीका नेताहरू पशुपति शमशेर राणा र प्रकाशचन्द लोहोनीसँग बाक्लो भेटघाटमा व्यस्त भएको आरोप लगाएका हुन् । ‘यो विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि सभापति देउवाको गोप्य कुराकानी र महामन्त्री शंशाक कोइरालाको अभिव्यक्ति र गतिविधि पनि राजतन्त्र फर्काउनेमा सिमित देखिन्छ ।’ उनले भने, ‘त्यतिमात्र होइन काँग्रेस केन्द्रिय समितिको बैठकमा पनि राजाको पक्षमा लहर बढेको देखियो । उनले काँग्रेसले गणतन्त्र र संघीयता खारेज गर्न लागेको बताए । अव काँग्रेसको दिनगन्ती शुरू भएको र जनआन्दोलन, मधेस आन्दोलन र माओवादी बिद्रोहबाट प्राप्त उपलब्धिको रक्षा फोरम नेपालको काँधमा आएको छ, अधिकार विहीन प्रदेश बनाएर नेकपा पार्टी पनि संघीयता विरोधी दिशामा बढेको उनले बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीको गतिविधि पनि कमाउ धन्दामा सिमित भएको छ ।’ उनले पूर्व राजासंग कांग्रेस सती जान खोजे राजा झै इतिहासमा सिमित हुने चेतावनी दिए ।









