उदयपुर, उदयपुरको पश्चिम पहाडी गाउँपालिका ताप्लीमा तामा खानी भएको प्रारम्भिक तथ्य फेला परेको छ । गाउँपालिकाको वडा नं. ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको खानीडाँडामा तामाखानी खानी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इनामे र रुपाटारबीचको भूभागमा तामा खानी भएको कुरा ४०–५० वर्षअघि परम्परागत प्रविधिबाट तामा प्रशोधन गरी माना, पाथीजस्ता नापतौलका सामग्री बनाएर पुष्टि भईसकेको गाउँलेको भनाई छ । स्थानीय बृद्धबृद्धाका अनुसार तामा र पित्तलका सामान बेच्न डुल्दै आउने घुमन्ते ताम्राकारको समूहले वर्षौंअघि खानीडाँडाको ढुंगा पगालेर माना, पाथी र तराजु बनाई प्रचलनमा ल्याएका थिए ।
स्थानीय युवा दिपकराज बुढाथोकीले सो ठाउँमा किटजस्तो बस्तु जताततै भेटिने गरेको भन्दै्र सोही बस्तु तामाको कच्चा पदार्थ हुन सक्ने ठोकुवा गरे । ‘हाम्रो गाउँतिरको पहाडमा किटजस्ता कालो–रातो रंग मिसिएको धातुजन्य बस्तु भेटिन्छ’ बुढाथोकीले भने ‘त्यही धातु तामाको कच्चा पदार्थ भएको गाउँले बुढापाकाहरु बताउँछन् । उहिले गाउँतिर घुम्दै आउने ताम्राकारले आगोमा गालेर तामाको माना, पाथी र भाँडा बनाउने गर्थे रे ।’
गाउँपालिकाले सिमेन्ट र तामा खानी फेला परेको पुष्टि गरेका छन् । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले ताप्लीमा प्रारम्भिक अनुसन्धानबाट सिमेन्ट र तामा खानी भएको लगभग पुष्टि भइसकेको बताए । उनका उनले यसको आधिकारिक पुष्ट्याईका लागि तामा र सिमेन्टको कच्चा पदार्थलाई परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाइएको बताए । ‘ताप्लीको ३ नं. र ५ वडाको बीचमा पर्ने खानीडाँडामा तामा खानी र ४ नं. को ठानागाउँ टाउकेडाँडामा सिमेन्ट बनाउने चुन ढंगा भएको बुढापाकाले भन्दै आएका छन’, अध्यक्ष थापाले भने, ‘४०÷५० वर्षअघि नै त्यहाँको कच्चा पदार्थ प्रशोधन गरेर गाउँमा तामाको माना र पाथी बनाएर प्रचलनमा ल्याईसकेको पाइएको छ ।’
त्यतिखेर बनेका माना, पाथी र बिभिन्न भाँडाकुँडा अहिले पनि गाउँघरमा चलाईरहे भन्दै थापाले त्यसकै आधारमा सो ठाउँको नाम पनि ‘खानीडाँडा’ रहन गएको हुनाले खानी छ भन्ने पुष्टि हुने बताए । ‘खानीडाँडा नाम त्यसै रहेको होइन, त्यहाँ पक्कै खानी भएकैले त्यो नाम राखिएको हुनुपर्छ’ अध्यक्ष थापाको भनाई छ । खानीडाँडा क्षत्रमा किटजस्तो कालो बस्तुको चट्टानी पहाड रहेको र त्यस्ता पदार्थ पहाडभरी छरिएर रहेकाले त्यहाँ निकै ठूलो परिमाणको तामा खानी हुनसक्ने आँकलन अध्यक्ष थापाले गरेका छन् ।
यता ताप्ली गाउँपालिका ५ कै ठानागाउँमा ठूलो परिमाणको सिमेन्ट खानी भएको प्रारम्भिक तथ्य पनि बाहिरिएको सोही वडाका वडाध्यक्ष चित्र मगरले बताए । उनका अनुसार ठानागाउँको टाउकेडाँडा भन्ने बस्ती आसपासको चट्टान सबै सिमेन्टको कच्चा पदार्थ भएको प्रारम्भिक जानकारी आएको छ । ८९ घरधुरी रहेको टाउकेडाँडा गाउँ आसपासको क्षत्रमा एकरडेढसय वर्षसम्म सिमेन्ट निकाल्न पुग्ने चुनढुंगाको खानी भएको अनुमान गरिएको वडाध्यक्ष मगरले बताए । टाउकेडाँडाको चट्टान सबै सिमेन्टको चुनढुंगा हुनसक्ने लगभग ८० प्रतिशत पुष्टि भइसकेको तर, यसलाई आधिकारिकताका लागि ‘ल्याबटेस्ट’ भने बाँकी रहेको उनले बताए ।
गाउँपालिकाले दुवै खानीको ढुंगा–माटो परीक्षणका लागि खानी तथा भूगर्भ विभाग पठाई सकेको छ । अध्यक्ष थापाले गाउँपालिकाको बृहत गुरुयोजना निर्माण गरिरहेको विज्ञ टोलीमार्फत दुवै ठाउँको ढुंगा–माटो परीक्षणका लागि विभाग पठाइएको बताए । महिना दिनअघि पठाइएको ढुंगाको परीक्षण परिणाम केही समयभित्रै आउने बताउँदै थापाले खानी भएको आधिकारिक पुष्टि भएमा उत्खननका लागि थप प्रक्रिया अघि बढाइने बताए ।
उदयपुरमा सिमेन्ट उद्योगको लागि त्रियुगा नगरपालिका १६ को सुकौराबाट उदयपुर सिमेन्ट उद्योग, उदयपुरगढी गाउँपालिकाको वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट र कटारी नगरपालिका सिरिसेबाट सौर्य सिमेन्टको चुनढुंगा खानीबाट उत्खन्न गर्दै आएको छ ।









