उदयपुर, जनप्रतिनिधि विच तालमेल नहुदाँ प्रदेश सरकारले विशेष महत्व दिएको अन्तर जिल्ला जोड्ने सडकक निर्माणको कार्य सर्भे कार्य रोकिएको छ । उदयपुर र खोटाङ जिल्ला (अन्तरजिल्ला) जोडने गरी सुरु गरिएको ३० किलोमिटर सडकको काम सर्वे गर्दै गरेको अबश्थामा स्थानीय सरकारसँग समन्वय नभएको भन्दै चौदण्डीगढी नगरपालिकाले रोकेको हो ।
सडक रोकिएसँगै मोवाईल फोन स्वीचअफ गरेर घर बसेका डिई जितेन्द्रकुमार कर्णसँग सम्र्पक हुन सकेन । निमित्त डिई इन्जिनियर कार्कीले भने राजनीतिक स्वार्थकै कारण काम रोकिएको बताए । उनले भने, ‘सडकको ७ किलोमिटर सर्वे सकिसकेका थियौ, मेयर साव, आएर नगरपालिकासँग समन्वय नगर्ने, सडक कहाँबाट कता लैजाने खोजेको कुनै जानकारी छैन् भन्दै हामी माथि खनिए, त्यसपछि काम अघि नबढाउन निर्देश भएपछि रोकेका हौ ।’
प्रदेश सरकारले आगामी बर्ष २ नम्बर प्रदेशअन्र्तगतको सप्तरी जिल्लाको महुली (अन्तर प्रदेश) जोड्ने गरी यो सडक निर्माणको योजना अघि सारेको हो । सोही अनुसार यो बर्ष उदयपुरको चौदण्डीगढी नगरपालिका ९ बाट निर्माण कार्य सुरु गर्ने गरी काम अघि बढाइएको पुर्वाधार विकास कार्यालयका निमित्त डिई इन्जिनियर रमेश कार्कीले बताए ।
अमिलिखर्कबाट–हडिया–ज्यामीरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जिल्ला जोड्ने सडक समन्वयको अभावसँगै राजनीतिक स्वार्थका कारण रोकिएको स्थानीयको बुझाई छ । स्थानीयले भने, ‘विकास निर्माणमा राजनीतिक भागबण्डा नगर्न आग्रह गरेकाछन् ।’
प्रदेश सरकारले यो सडकका लागि चालु आर्थिक बर्षमा खर्च गर्ने गरी दुई करोड रूपिँया वजेट विनियोजन गरेको छ । वहुवर्षिय योजनामा राखिएको उक्त सडक तीन बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सोही क्षेत्रका सांसद विमल कार्कीले बताए । उनकाअनुसार ८ मिटर चौडाईमा कालोपत्रे र दुबै साईडमा नाला निर्माण गरी ३० किलोमिटर सडक बनाउने योजना प्रदेश सरकारको रहेको बताए ।
विनियोजित वजेट कार्यान्वयनका क्रममा प्राविधिकले काम बढाउँदै गरेको अवस्थामा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईको निर्देशनमा रोकिएको सोही नगरपालिकाका वडानं ९ का अध्यक्ष प्रकाश राउतको आरोप छ । उनले नगरपालिका भित्र आफ्नो पार्टी अल्पमतमा रहेकाले पार्टी मार्फत हुन लागेका कामलाई पेल्ने र सकेसम्म अवरोध पुर्याउने योजना मेयरको रहेको बताए ।
वडाध्यक्षको आरोपको मेयर राईले ठाडै अस्वीकार गरेकाछन् । उनले भने, ‘कहाँ, कताबाट सडक निर्माण गर्ने स्थानीय सरकारसँग कुनै तालमेल छैन्, आफुखुशी सर्वे भएको सुनेपछि पुर्वाधार विकास कार्यालयका डिई कर्ण र इन्जिनियर रमेश कार्कीसँग बुझ्दा केहि अस्पष्ट देखिएकाले काम रोकिएको हो ।’

‘हामीलाई कुनै जानकारी नगरी काम सुरु गरियो,’ मेयर राईले भने, ‘माननिय ज्युले सत्ताको वलमा आफुअनुकुल कर्मचारी खटाई काम सुरु गरेको पाँए, त्यहीँ बिषयमा किन समन्वय नगरेकोभन्दा डिई कर्ण र इन्जिनियर कार्कीसँग भनाभन चल्यो, त्यसपछि उनीहरुले नै काम रोकेका हुन् ।’
निर्माण कार्य रोक्नमा आफ्नो कुनै संग्लनता नरहेको स्पष्ट पार्दै उनले सडकको नाममा हडिया लेखिएकाले वडानं १० को कार्यालय घुमाएर हडिया बजार छुवाएर लैजानु पर्ने तर्क गरे । वडानं ९ र १० साविकको हडिया गाबिसमा पर्दछन् । वडानं ९ का अध्यक्ष प्रकाश राउत तत्कालिन नेकपा एमाले समर्थित हुन् भने वडानं १० का अध्यक्ष रामकुमार खड्का नेपाली काँग्रेस समर्थित हुन् । ९ का वडाध्यक्ष राउतले आफ्नो वडालाई छुवाएर लैजाने गरी प्रदेश सरकारसँग आफुले योजना माग गरेकाले सोहीअनुसार परेको दावि गरे ।
सडक विवादमा तानिएपछि सोमबार नगरकार्यपालिकाको आकस्मिक बैठक बस्यो । वडानं ९ का अध्यक्ष राउत उपस्थिति नभएको उक्त बैठकले वडानं १० को वडा कार्यालय हुँदै हडिया बजार घुमाएर लैजाने गरी सडक निर्माण गर्न दिने निर्णय गरेको घुमाउरो भाषामा मेयर राईले बताए ।
प्रदेश सांसद विमल कार्कीले भने जनताको विकास निर्माणको तिव्र चाहानालाई खुल्लामनले सहयोग गर्दा स्थानीय सरकारबाट अवरोध हुन्छ भने त्यसको हिसाव किताव जनताले राख्ने बताए । उनले सडक निर्माणको नेकपालाई ‘जस’ जाने भयो भनेर काँग्रेसका नेता कार्यकर्ताले अवरोध पुर्याएको बताए । उनले भने, ‘वडानं ९ बाट मात्र सडक जाँदा वडाध्यक्ष राउतले मात्र काम गरेको जस्तो देखिने र जसपनि लिने भएकाले, वडानं १० का वडाध्यक्ष खड्का र पुर्व हडिया गाबिसका अध्यक्ष अर्जुनकुमार दाहालको योजनाअनुरुप मेयरले रोकेका हुन् ।’
प्रदेश सरकारले खोटाङको विभिन्न गाउँपालिकाका सर्वसाधारणलाई उदयपुर हुदैँ तराईका जिल्लामा आवतजावत गर्न सहज हुने हेतुले सडकको योजना अघि सारेको सांसद कार्कीले बताए । निर्वाचन क्षेत्र जोडिएका जिल्लामा प्रदेश सरकारले अन्तर जिल्ला र अन्तर प्रदेश जोडने सडकलाई प्राथामिकतामा राखेर योजनाअघि सारेको सांसद कार्कीले बताए ।
विकास निर्माणको पहिलोचरणकै काम रोकिएपछि स्थानीयबासी भने आक्रोशित बनेका छन् । सडक निर्माण नहुदाँ सास्ती खेप्दै आएका स्थानीयलाई उक्त सडक निर्माणले ठुलो राहत पुग्ने स्थानीय शम्भु पौड्ेलको भनाई छ । सडक निमार्णसँगै आफुहरुले उत्पादन गरेका कृषि सामग्रीदेखि औषधि उपचार गर्नसमेत सहज पुग्ने खोटाङका सर्वजित राई बताउँछन् ।
सोही क्षेत्रका प्रदेश सांसद विमल कार्की तत्कालिन नेकपा एमाले (हालको नेकपा)बाट निर्वाचित सांसद हुन् । तत्कालिन अबश्थामा उनी एमालेको जिल्ला उपाध्यक्ष थिए । यता चौदण्डीगढी नगरपालिकाबाट निर्वाचित भएका मेयर खगेन्द्र राई नेपाली काँग्रेसका नेता हुन् । दुबै जना फरक–फरक पार्टी भएकै कारण विकास निर्माणमा अवरोध पुगेको स्थानीयको बुझाई छ ।
स्थानीय बुद्धिजीवि, पुर्व शिक्षक कुमारसिंह कार्कीले भने, विकास निर्माण जनताको आधारभुत आबश्यकता भएकाले विकास निर्माणमा राजनीति गर्न नहुने धारणा व्यक्त गरे । उनले भने, ‘जनता यो वा उ पार्टीको हुन्न, त्यसले विकास निर्माण सबैको साझा सम्पती भएकाले राजनीतिक स्वार्थका आधारमा जनतालाई बाधा पुर्याउन हुन्न ।’
सांसद कार्कीले विकास निर्माणमा जसको भागेदार नेकपाले लिने भएकाले काँग्रेस समर्थकले स्थानीय सरकारसँग समन्वय नगरेको हवला दिएर अवरोध पुर्याउन खोजेको आरोप लगाए । यधपि उनले समस्या स्थानीय स्तरमा नै बसेर समाधान गरिने बताए ।
उता मेयर राईले भने, प्रदेश सरकारबाट आएका अन्य केहि योजनामा सांसदले आफु र आफ्नो पार्टीका कार्यकर्ता अनुकुल बनाउने गरी संशोधनको तयारी गरेको आरोप लगाए । उनले ठेक्का लागेको झोलुगेंपुललाई पक्कि पुल बनाउने र बेल्टार बजारको सिटीहल उत्तर हुँदै पानी टयांकी जाने सडक पश्चिमतर्फबाट लैजाने गरी संशोधननका लागि सम्बन्धित मन्त्रालयमा निवेदन दिएको आरोप लगाए ।









