उदयपुर, उदयपुर सिमेन्ट उद्योगले उत्पादन मात्र बढाएको छैन, एकपछि अर्को सुधारको काम पनि गर्दै लगेको छ । सिमेन्ट प्याकिङ गर्दा तौलमा घटीबढी हुन नदिन ‘डिजिटल प्याकिङ’ उपकरण पनि भर्खरै जडान गरिएको छ ।
गैंडा ब्रान्डको सिमेन्ट उत्पादक उद्योगलाई आधुनिकीकरण गर्दै लाने क्रममा डिजिटल प्याकिङ जडान गरिएको नायव महाप्रबन्धक धुर्व बहादुर देवकोटाले बताए । यो उपकरणले सिमेन्ट प्याक गर्दा तौलमा घटबढ हुन दिँदैन । यसअघि म्यानुयल प्रविधिबाट प्याकिङ गर्दा बेलाबेलामा दुई–चार सय ग्राम सिमेन्ट घटीबढी भर्ने गरेको पत्ता लागेपछि डिजिटलाइज गरिएको देवकोटाले बताए । ‘स्थापनादेखि म्यानुयल प्रविधिबाट प्याकिङ गरिँदै आएकोमा कहिले काहीँ ५० किलोको बोरामा दुई–चार सय ग्राम घटीबढी भएको पाएपछि डिजिटलाइज गरेका हौं,’ उनले भने । जर्मनीको हार्भर कम्पनीको उपकरण दुई करोडमा जडान गरिएपछि ५० किलोको बोरामा एक ग्राम पनि तलमाथि हुन छाडेको उनले बताए ।
उद्योगबाट उत्पादिन गैंडा ब्रान्डको सिमेन्टको बजार फराकिलो बनाउन पहल सुरु भएको छ । उत्पादन वृद्धिसँगै बजारको चिन्ता सुरु भएपछि उद्योग व्यवस्थापनले ठूला परियोजना र जिल्लाका सबै स्थानीय तहसँग गैंडा सिमेन्ट नै प्रयोगका लागि पल थालेको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । वर्षमा एक महिना मर्मतका लागि छुट्ट्याएर बाँकी ११ महिनामा मात्र पूर्ण स्तरमा सिमेन्ट उत्पादन हुने हो भने अहिलेको बिक्रीको तुलनामा बजारीकरण गर्नुपर्ने खाँचो महसुस गरेर पहल थालिएको उनले बताए ।
गैंडा छाप सिमेन्ट अन्यको तुलनामा गुणस्तरीय भए पनि विभिन्न स्किम ल्याएर निजी उद्योगले डिलरलाई प्रलोभनमा पार्ने गरेकाले बजारीकरणमा केही समस्या आउन सक्ने जिसीले बताए । ‘पूर्ण क्षमतामा उत्पादन हुने हो भने महिनामा दुई लाख ४० हजार मेट्रिक टन अर्थात पाँच लाख ८० हजार बोरा सिमेन्ट निस्कन्छ,’ बजार वृद्धि गर्नु पर्ने खाँचो औंल्याउँदै सिसीले भने, ‘अहिले जस्तो दैनिक पाँच हजारदेखि १० हजार बोरा हाराहारी मात्र बिकेर त सिमेन्ट राख्ने ठाउँ नै रहँदैन ।’
महिना दिन विद्युत् र बिदा वा मर्मतलाई छुट्ट्याउने हो भने पनि ११ महिनामा उत्पादन हुने सिमेन्ट बेच्न सके ठूला परियोजनालाई ग्राहक बनाउनु पर्ने निष्कर्षसहित उद्योगले योजना बनाउँदै गरेको अर्का डिजिएम महेश काफ्लेले बताए । अरुण तेस्रो र पूर्वमा सञ्चालित विभिन्न जलविद्युत् परियोजनासँग यसबारे छलफल अन्तिम चरणमा पुगेको उनले बताए ।









