उदयपुर – उदयपुरमा विभिन्न ठाउँमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ भने ५४ लाख बढी धनमालको क्षति भएको छ । आगलागीबाट मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ पाखाटोलका रामबहादुर मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर रहेको छ ।
शुक्रबार अन्दाजी ५ः१५ बजेको समयमा मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीबाट मगरको अन्नपात, लत्ता कपडा, भाँडा भर्तन सबै जल्दा करिब १० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए । उनका अनुसार आगो स्थानीय र प्रहरीले ६ बजे नियन्त्रणमा लिन सफल भएको बताए ।
इलाका प्रहरी कार्यालय भुट्टार बाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकको टोली हाल घटना स्थल गएर थप अनुसन्धान गर्ने क्रम जारी रहेको छ ।
यस्तै रौतामाई गाउँपालिका ५ डुडे बस्ने मान बहादुर कटुवालले संचालन गरेको कृषि फर्ममा शुक्रबार विहान २ः३० बजे विद्युत सर्ट भई आगलागी भएको छ । कटुवालले संचालन गरेको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा अचानक विद्युत सर्ट भई आगलागी हुँदा ४४ लाख ६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
फर्ममा रहेका रहेका बोयर जातको बाख्रा ३० र बोका ११ वटा, जमुनापारी बाख्रा १६, बोका ५ र पाठापाठी ८ वटा, लोकल बाख्रा १८ वटा, खसी २२ वटा गरी १२० बाख्रा खसी जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा खसीको मुल्य २४ लाख ६ हजार र फर्मको मूल्य २० लाख गरी ४४ लाख ६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।









