उदयपुर – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मत गणना गर्दा प्रतिनिधि सभाको बाक्सामा १०० मत प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्यको मत पत्र भेटिएपछि मत गणना स्थगित भएको छ । मत गणना स्थगित भएपछि आज विहान १०ः३० बजेको लागि बोलाएको सर्वदलिय बैठक विना निस्कर्ष ४ः१५ बजेसम्मको लागि स्थगित भएको छ ।
प्रत्यक्ष तर्फको प्रतिनिधि सभा निर्वाचनको मत परिणाम करिव अन्तिम अन्तिममा आइपुग्दा ५ हजार ५४१ मत गणनाको क्रममा प्रदेश सभा सदस्यको १०० मत प्रतिनिधि सभाको बाक्सामा भेटिएपछि मत गणना स्थगित भएको हो ।

प्रतिनिधि सभाको मत गणनामा पछिल्लो चरण त्रियुगा नगरपालिका अन्तर्गतका जनता मावि देउरी ६(क), ६(ख) र ६(ग) केन्द्र, अम्बेबर मावि राजाबास ९(क) केन्द्र, मावि चिलाउने १६(ख) केन्द्र, जनता मावि श्रीपुर ५(क) केन्द्र, बालमन्दिर मावि बोक्से १०(ख) केन्द्र बाक्सा खोलिएको नेकपा एमालेका मत गाण्नामा खटिएका प्रतिनिधि धर्म तामाङले जानकारी दिए ।

त्रियुगा नगरपालिका बाहेक नारदमुनी आदर्श मावि वर्खेडाँडा ४(क), शिव मावि सुन्दरपुर ५(ख), जनता मावि गुरुङचौरी ४(ख) को पनि संगै मिसाए खोलिएको तामाङले बताए ।  उनका अनुसार मत गणनामा २०४ मत घटी भेटिएको छ ।

प्रदेश सभा १(क) मा रुख चिन्ह नभएकोले १०० मतपत्रमा रुखमा पनि मतदान गरिएको हुँदा त्रियुगा नगरपालिकाकै हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो चरणमा मत गणनाको लागि १० वटा बाक्सा खोलिएको मध्ये त्रियुगा नगरपालिकाको एक बाक्साको सय मत हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए । उनका अनुसार सय मत कुन बुथको हो त्यस बारे त्रियुगा नगरपालिकाका ७ वटै मतदान केन्द्रहरुको मतदान अधिकृतहरुलाई मत गणना स्थलमा बोलाएर छानविन शुरु गरिएको छ । ‘प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको मत पत्र दिनु पर्नेमा प्रत्यक्ष तर्फको मतपत्र दिएको हुन सक्ने अनुमान गरिएको छ’, उनले भने– ‘प्रदेश सभाको भेटिएको मत्रपत्र सवै एउटै कन्द्रको हो कि छुट्टाछुट्टै हो छानविन थालिएको छ । टुङ्गोमा पुग्नको लागि सवै मतपत्रको अर्धकट्टीहरु रुजु हुने काम गरिरहेको छ ।’ सर्वदलीय बैठक आज ४ः१५ बजेसम्मको लागि स्थगित भएको हो ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ मत गणनाको ६७ हजार ८२ मतको परिणाम सार्वजनिक भईसकेको अवस्था छ । जसमा २७ हजार ४८४ मत सहित नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का अगाडी रहेको छ भने २५ हजार ६५९ मत सहित नेकपा एमालेका उम्मेदबार मन्जु कुमारी चौधरी पछ्याई रहेको छ ।

 

तपाईको प्रतिक्रिया