उदयपुर, निजामती कर्मचारीहरुको संस्था आधिकारिक ट्रेड युनियका केन्द्रिय उपाध्यक्ष भोला पोखरेलले सिंहदबारका कर्मचारीलाई अवसरबादीको संज्ञा दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रसेवक बहुउदेश्यीय सहकारी सँस्था उदयपुरले शनिबार संयुक्त रुपमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले सिंहदरबारका कर्मचारी राष्ट्रसेवक नभइ अवसरबादी भएको बताए ।
स्थानीय तहमा बसेर जनताको प्रत्यक्ष सेवा गर्ने कर्मचारी मात्र वास्तविक राष्ट्रसेवक भएको बताउँदै पोखरेलले सिंहदरबार भित्र बस्ने ईमेल ईन्टरनेट चलाउने, नेताको चाप्लुसी घस्ने र सरुवा बढुवामा मात्रै ध्यान दिने कर्मचारी वास्तविक राष्ट्रसेवक नभएको ठोकुवा गरे ।
उनले उच्चपदस्थ कर्मचारी कन्सल्टेन्सि खोल्ने, ठेक्का पट्टा गर्ने गरेकाकारण सिंगो कर्मचारी क्षेत्र बदनाम भएको बताउँदै बदनामीको भागेदार खरिदार र नायव सुब्बालाई नवनाउन आग्रह गरे । कर्मचारी समायोजन प्रति निकै आक्रमक देखिएका पोखरेलले सरकारले एक वर्ष टेवलमा लुकाएर पछि अध्यादेशमार्फत समायोजन विद्येयक लगेको बताए ।
उनले कर्मचारीको मनोवल गिराएर गरिने समायोजन प्रक्रिया स्विकार्य नहुने बताउँदै राष्ट्रसेवकको कार्यथलोलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसँग माग गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले समायोजनकाकारण केहि अस्थिरता उब्जिनु स्वभाविक भएको बताए । उनले समायोजनमा को कता जाने भन्ने विषय निकै चासोको विषय भएकाले यस्तो अवस्थामा सम्यमित र विवेकपूर्ण ढङ्गले निर्णय लिन सवैलाई अपिल गरे ।
त्यसैगरी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भागवत यादवले समायोजनमा उच्चपदस्थ कर्मचारीको हालिमुहाली भएको आरोप लगाए । उनले समायोजन विद्येयक केहि त्रुटिपूर्ण भएकाले संसोधन गरि अघि बढ्नु पर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष अम्बादत्त भट्टले सेवासर्त पुरा भए देश भरका कर्माचारीहरु समायोजनमा जान तयार रहेको बताए । उनले फास्ट ट्रयाक मार्फत रिक्त कर्मचारी पद पूर्ती गर्नसमेत तसरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा नेता मोहनबहादुर खत्री, इश्वरमणि राउत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले बोलेका थिए । सोअवसरमा सेवानिवृत नित्यप्रसाद भट्टराई, हरी आचार्य, रमेश दाहाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी त्रियुगा नगरपालिकामा कार्यरत विरामी कर्मचारी दिलिप खड्कालाई उपचार खर्च हस्तान्तरण गरिएको थियो ।
संगठनका अध्यक्ष वंशबहादुर कार्कीको अध्यक्षता, सचिब गणेश आचार्यको सञ्चालन र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सिताराम कार्कीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा विभिन्न रचनात्मक प्रतियोगिताहरुसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया