उदयपुर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनु पर्ने बताएका छन् । बुधबार बरुवा क्याम्पसको पुस्तकालय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको २० लाख सहयोगमा पुस्तकालय भवन निर्माण हुने भएको छ । 
उनले घोकन्ते विद्या भन्दा व्यवहारिक, प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका हुन् । मुलुकको विकासको लागि शिक्षा अत्यन्तै महत्पूर्ण भएकोले गुणस्तरण्ीय शिक्षा आजको आवश्यकता भएको बताए । शिक्षाको लागि विद्यार्थी, अभिभावक, शिक्षकको त्रिकोणत्मक सम्बन्ध पनि हुनु पने, शिक्षा आत्मा विश्वासको गुणस्तरीय र व्यवहारिक हुनु पर्नेमा प्रदेश सरकार लागि परेको मन्त्री राईले बताए । उनले घोकाएर पढाउनु भन्दा सिकाउनु उपयुक्त हुन्छ र विद्यार्थीको अभिरुची अनुसार शिक्षकहरु पनि शिक्षामा अपडेट हुनु पर्ने बताए । उनले बरुवा क्याम्पसको पुस्तकालय भवन प्रदेश सरकारको तर्फबाट मायाको टोकन मात्रै भएको र आगामी निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले त्रियुगा जनता बहुमुखी क्याम्पस लगायत अन्य विद्यालयहरुलाई पनि प्रदेश सरकारले सहयोग गरेको बताए ।
यस्तै विशेष अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले क्याम्पसको जग्गा अतिक्रमणमा परेकोले त्यसको संरक्षण आवश्यक रहेको बताए । क्याम्पसलाई आवश्यक थप जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको पनि उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै यस अघिको नगर सरकारले त्रियुगा नगरपालिका ४ बगहामा मेडिकल कलेज स्थापनाको लागि गरेको निर्णयलाई निरन्तता दिँदै मेडिकल डिपियारको चरणमा रहेको मेयर बस्नेतले बताए । उनले त्रियुगा नगरपालिकामा शिक्षा र स्वास्थ्यको लागि कुनै पनि कसर बाँकी नराख्ने बताए ।
यस्तै उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष केशव कुमार बस्नेतलाई सम्मान गरेको छ । बरुवा क्याम्पसको विद्यान बमोजिम उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष वा महाप्रबन्धक क्याम्पसको पदेन सदस्यको व्यवस्था रहे बमोजिम केशव कुमार बस्नेतलाई सम्मान गरेको हो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा निवर्तमान मेयर बलदेव चौधरीले बरुवा क्याम्पसलाई अवको दिनमा प्राविधिक धारको लागि इन्जिनियरिङ क्याम्पसको रुपमा विकास गर्न अगाडी बढि रहेको बताए । २०६४ सालमा व्यवस्थापन संकायबाट शुरुवात गरेको क्याम्पसमा अहिले शिक्षा संकाय पनि रहेको छ । यस क्याम्पसमा अहिले साढे पाँच सय विद्यार्थी रहेको र ३० भन्दा बढी शिक्षक कार्यरत रहेको बताए । उनले राष्ट्रिय योजना आयोग र त्रियुगा नगरपालिकाको ६ करोड ६३ लाखको लगानीमा क्याम्पस भवनहरु पनि निर्माण भईरहेको छ । यो भवन ३ बर्ष भित्र निर्माण सकिने अध्यक्ष चौधरीले बताए । ‘शैक्षिक संस्थाहरुको भिडमा अलगधार बनाउने हाम्रो प्रयास छ,’ अध्यक्ष चौधरीले भने, ‘जीवन उपयोगी, व्यवहारिक, उत्पादनमुखी र राज्यसँग सम्बन्धित रहने गरी प्राविधिक शिक्षा सञ्चालनमा ल्याउँछौ ।’









