उदयपुर – आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् ।
थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जितिया पर्व मनाइदै छ ।
विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यो वर्ष शुद्ध जितिया परेको छ ।
यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने चलन रहेको थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए ।
किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ ।
जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ । असोज कृष्णपक्षको सप्तमीको दिन विवाहित महिलाहरूले नदी, तलाउ किनारमा स्नान गरेर घिरौलाको पातमा पिना र तोरीको तेल चढाएर जितमहान भगवानको आह्वान गरेर यो पर्व शुरु गर्ने चलन छ । आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ । मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एकदिन अघि देखि ‘सधवा’ अर्थात (श्रीमान जिवितै रहेको महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाईन’ खाने चलन छ ।
आज आश्विन कृष्ण अष्टमी तिथिको आगमनसँगै यो पर्वमा उपवास सुरु हुने र नवमी तिथिको आगमन हुनासाथ उपवास सम्पन्न हुन्छ । मंगलबार मध्य राति देखि विहिबार बिहानसम्मको सो तिथिको अवधिमा उपवासमै बस्नुपर्ने हुन्छ । अष्ठमीका दिन पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात् बिहान भएपछि मात्र भोजन गर्न पाउँछन् ।
थारुधर्म ग्रन्थ अनुसार उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा चित्रण गरिएको छ ।
तिथिको समयको हेरफेर भएका कारण ओटघनको साइत (दरखाने साइत) नपरेकाले व्रतालुहरूलाई लगातार दुई दिनसम्म निराहार बस्नुपर्ने स्थिति पनि आउने गरिन्छ । दुई दिनसम्म उपवास वस्ने दिनलाई खर जितियाको रुपमा लिइने गरिन्छ, थारु पण्डित बासुदेव चौधरीले बताए । पर्वको तिथिको समयअगावै अर्थात् सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु माताका साथै परिवारका सम्पूर्ण सदस्यहरू माछा, दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन खाएका थिए । यसलाई थारु समुदायमा ओटघन अर्थात दर खाने भनिन्छ ।
थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ ।
आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।
त्यसपछि, हाँगामाथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।