उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ ।

फाइल तस्विर

आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । यस विषयमा महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिँदै आएका उनीहरुसँगै यस वर्ष नयाँ विवाहिता महिलाले समेत जितिया प्रारम्भ गर्न मिल्ने थारु पण्डित बासुदेव चौधरीले बताए ।

उनले भने, ‘थारू समुदायको महान् पर्व हो, जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’

मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने पनि चलन रहेको छ ।

किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ ।

आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।

त्यसपछि, हाँगामाथि चिलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।

थारु महिलाहरुले आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो पर्व मनाउने गरिन्छ । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइने यो पर्व सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुने थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए ।

नहाय खाने दिन (शनिबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गर्छन् । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्नेछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

यस पर्वको अवसरमा उदयपुरका ठाउँ–ठाउँमा भव्य जितिया महोत्सव समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।

उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाले असोज २ गते एक दिन बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया