उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा दुर्लभ अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ । सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब ८ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको छ । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।
अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

वनमा चराउन लगेको बोका सग्लै निलेको देखेपछि प्रहरीलाई खबर गरेको बताए । उद्धारको लागि प्रहरीसँगै पुगेका सब डिभिजन वन कार्यालय सुन्दरपुरका सुविदार विनोद भुजेलले आफूले पनि जीवनमा सबैभन्दा ठूलो अजिंगर देखेको बताए । ‘झन्डै चार मिटर लामो, खाएको बोकासहितको तौल २६ किलोजति हुँदो हो,’ उनले भने, ‘हामी बोरामा लगाएर उद्धार गरी अहिले सब डिभिजन वन कार्यालयमै राखेका छौँ । सुरक्षित स्थानमा छोड्ने तयारी छ ।’
वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेलले चुरे क्षेत्रमा पहिलो दुर्लभ अजिंगर फेला परेको बताए । उनले भने, ‘अजिंगरले बोका खाइदिएपछि स्थानीयले मार्न खोजेकाले प्रहरी र वनका कर्मचारीले उद्धार गरेका छन् । अब यसलाई सुरक्षित वन क्षेत्रमा छोड्ने तयारी गरेका छौँ ।’

उनले चुरेका वन क्षेत्रमा बसोबास गर्ने अजिंगरलगायतका वन्यजन्तुहरू लोप हुँदै जाँदा देखा परेको पनि बताए । ‘वन क्षेत्रमा मानव बस्ती बढेपछि हराउँदै गएको अजिंगर देखिनु कुनै नौलो होइन,’ उनले भने, ‘यसलाई संरक्षण गर्नुपर्छ । यस्ता ठूला ठूला सर्पहरू अपवादमा मात्र भेटिने गरेका छन् ।’

 

तपाईको प्रतिक्रिया