नेपालटार । उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ७५ करोड ५० लाख ११ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको विहिबार नीति तथा कार्यक्रम पारित भएको थियो भने शुक्रबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट पास गरेको छ ।
उदयपुरगढीमा चालु तर्फ ६४.८६ प्रतिशत र पुँजीगत तर्फ ३५.१४ प्रतिशत बजेट विनियोजन भएको छ ।
पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघबाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताउनुभयो ।

पालिकाको प्रमुख स्रोत भनेको संघीय सरकारबाट वित्तीय समानिकरणमा प्राप्त हुने १७ करोड २३ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ११ करोड ४८ लाख ७९ हजार रकम हो ।

प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख ९८ हजार वित्तिय समानिकरण अनुदान, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाड ५२ लाख ८५ हजार रहेको छ भने आन्तरिक आय वापतको ८४ लाख ८० हजार नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए ।

पालिकाको व्यायमा आर्थिक विकास तर्फ २ करोड ९७ लाख, सामाजिक विकास तर्फ पनि २ करोड ९७ लाख, पूर्वाधार विकास तर्फ ७ करोड ४ लाख ९० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ४९ लाख, सुशासन तर्फ १ करोड ५० लाख ३९ हजार र ८ वटै वडाहरुको योजनाहरु वापत ६ करोड ११ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

सामाजिक सुरक्षा कार्यक्रमतर्फ १० करोड ८९ लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २६ करोड ६५ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

उदयपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक ( पूर्णपाठसहित)

 

तपाईको प्रतिक्रिया