नेपालटार । उदयपुरगढी गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आठ स्थानीय तहमध्ये विहिबार उदयपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नीति तथा कार्यक्रममा अपेक्षित उपलब्धीका लागि स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतका पूर्वाधारको दिगो विकासको रुपमा लिएको छ भने चालु आवको वर्षको बजेटले विकासको आधारशीलालाई थप मजवुत बनाउने छ र तिव्र आर्थिक सामाजिक विकास भएको हुने नीित तथा कार्यक्रममा छ ।

पाँच वर्ष भित्रमा प्रत्येक घरमा धारा जडान गर्ने, गाउँपालिका क्षेत्रको तत्कालिन आवश्यकता पूरा भएका र दीर्घकालिन योजनाहरु बनाउने, स्थानीय स्रोत साधनहरुको खोजी, पर्यटन क्षेत्रको विकास मार्फत आयस्तर वृद्धि गर्ने लक्ष्य लिइएको छ । स्थानीय सरकारको सेवा प्रवाह सुशासनमैत्री एवम् प्रविधिमा आधारीत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाको सवै वडाहरुका नागरिकहरुले विद्युत सेवा विस्तारलाई निरन्तता दिइएको छ भने कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालनलाई नीति तथा कार्यक्रममा अगाडी बढाइएको छ ।

पालिका भित्रका वर्थिङ्ग सेन्टरमा नियमित चेक जाँच गराई वाल वच्चा जन्माउने सुत्केरीहरुलाई यातायात सहयोग बापत एक हजार पाँच सय दिने नीति लिएको छ ।

आठ स्थानीयत तहमध्ये चार नगरपालिका र तीन गाउँपालिकाले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

खण्ड २
आगामी आ.ब. २०७९/०८० को नीति तथा कार्यक्रम
सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धि
सोचः
स्वस्थ्य, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोवास गर्ने गाउँपालिकाको रुपमा उदयपुरगढीलाई स्थापित गर्नु ।

लक्ष्यः

 स्वास्थ्य खानेपानी सन्तुलित खान पान मार्तशिशु कल्याण नियमित स्वास्थ्य सेवा प्रबाह गदै राष्ट्रिय स्वास्थ्य लक्ष्य हासिल गर्ने।

 गाँउपालिका भित्रका शैक्षिक पुर्वाधार संरचना निर्माण,शिक्षण शिकाई उपलब्धी वृद्धि, शैक्षीक सुशासन र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने ।

 स्थानीय स्रोत, साधनको खोजी तथा दिगो उपयोग गर्ने ।

 कृषि तथा पशुपालन,सहकारी र वित्तीय पहुच विस्तार गर्दै गुणस्तरीय जिवन पद्धतिको सुनिश्चिता गर्ने ।

 समावेशीता समानता तथा समताको सिद्धान्तको अवलम्वन गर्दै आर्थिक सामाजिक रुपले सक्षम र मयिदत जिवनयापनको व्यवस्था गर्ने ।

उद्देश्य :

 व्यवस्थित स्वास्थ्य प्रणाली तथा स्वास्थ्य संरचनाका लागि पूवार्धार निर्माणमा जोड तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने,

 प्राविधिक शिक्षा, भौतिक पुर्वाधार, गुणस्तरीय शिक्षाका माध्यमवाट जीवन उपयोगी तथा सिपयुक्त शिक्षाको प्रबन्ध मिलाउने ।

 कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालन गर्ने,

 उज्यालो उदयपुरगढी नारालाई सार्थक बनाउनु ।

 शासकीय सुधार र सुशासन अभिवृद्धि गर्नु ।

 भौतिक पूर्वाधार तथा मानव संसाधनको विकास गर्दै स्रोतसाधानको अधिकतम उपयोग गरी समृद्ध, समुन्न, शान्तिपूर्ण गाउँपालिका स्थापना गर्नु ।

 लक्षित समूह वर्गहरुको विकासका लागि समावेशी, समानुपातिक आधारमा सशक्तिकरण गराउँदै लैजानु ।

 गुणस्तरिय पर्यटन सेवाको विकास र विस्तार गर्नु ।

 निर्माणाधीन तथा अधुरा आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने,

अपेक्षित उपलब्धीः

 स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतका पूर्वाधारको दिगो विकास भएको हुनेछ।

 गाउँपालिकाको विकासको लागि यस वर्षको बजेटले विकासको आधारशीलालाई थप मजवुत बनाउने छ र तिव्र आर्थिक सामाजिक विकास भएको हुनेछ।

 गाउँपालिका क्षेत्रको तत्कालिन आवश्यकता पूरा भएका हुनेछन भने दीर्घकालिन योजनाहरु बनेका हुनेछन्।

 स्थानीय साधन स्रोतहरुको खोजी भई दिगो उपयोग भएको हुनेछ।

 लक्षित वर्ग क्षेत्रका मानिसहरुको लागि सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन भएका हुनेछन् ।

 पर्यटन क्षेत्रको विकास मार्फत आयस्तर वृद्धि भएको हुनेछ।

 स्थानीय सरकारको सेवा प्रवाह शुसासनमैत्री एवम् प्रविधिमा आधारीत सेवा प्रवाह भएको हुनेछ।

 गाउँपालिकाको सवै वडाहरुका नागरिकहरुले विद्युत सेवाको उपयोग गरेका हुनेछन ।

 कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालन भएको हुनेछ।

बार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा अबलम्बन गरिएका आधारहरु

 नेपालको संविधानमा उल्लेखीत मौलीक हक, राज्यको निर्देशक सिद्धान्त र नीति

 नेपालले अन्तराष्ट्रिय जगतमा प्रतिबद्धता गरेको दिगो विकास लक्ष्य लगायतका अन्य प्रतिबद्धताहरु

 संघिय सरकारको १५ औ पञ्चवर्षिय योजना प्रादेशिक आवधिक योजना, पालिका स्तरीय पञ्चवर्षिय योजनामा लिईएका आधारहरु

 स्थानिय सरकार सञ्चालन ऐन, २०७४

 प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४

 अन्तर सरकारी वित्तीय हस्तान्तरण ऐन,२०७४

 संघ, प्रदेश र स्थानिय तह (समन्वय तथा अन्तर सम्बन्ध) ऐन, २०७७

 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७

 संघिय र प्रादेशीक समपुरक तथा विशेष अनुदान सम्बन्धी कार्यविधिहरु

 नेपाल सरकार र प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु

 गाँउ कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णय एवम् प्रतिबद्धताहरु

 विभिन्न विषयगत समितिका निर्णयहरु

 राजनैतिक दल एवम् सरकारी गैह्र सरकारी तथा विकास साझेदारहरुको सल्लाह सुझावहरु

 निर्वाचनका बखत सत्तरुढ दलले वाचा गरेका घोषणपत्रहरु

 नागरीकको आबश्यकता माग

आदरणीय गाँउ सभा सदस्य ज्युहरु,

अव म आर्थिक वर्ष २०७९/०८० मा अवलम्बन गरिने नीति तथा कार्यक्रमको विषयगत विवरण पेश गर्दछुः

पुर्वाधार विकास :

 गाउँपालिकाको केन्द्र र वडा कार्यालय जोड्ने सडकहरुको स्तरोन्नती तथा नियमित रेखदेख गरि १२ महिना नै यातायात संचालन गर्ने आयोजनाहरु तय गरिनेछ ।

 आ व २०७९।८० देखि वन्ने कुनै पनि प्रकारको पुर्वाधार संरचना वाल मैत्री, अपाङ्ग मैत्री तथा विपद उत्थानशिल वनाईनेछ ।

 मर्मत संभार कोषको स्थापना गरि सो कोष संचालन कार्यविधि वनाईनेछ र पुर्वाधारजन्य आयोजनामा २ प्रतिशत मर्मत संभार कोष र २ प्रतिशत कन्टिजेन्सी कट्टी गरिनेछ।

 मर्मत संभार कोषवाट संचालन गरिने आयोजनामा अधिकतम लाभग्राही साझेदारी हुने आयोजनालाई पहिलो प्राथमीकता दिईनेछ।
 कानून बमोजिम गर्नुपर्ने आई ई ई,वि ई ए,ई आई ए,स्वाईल टेष्ट गरिनेछ।

 स्थानिय भवन संहिता स्विकृत गरि घरनक्सा अनिवार्य लागु गरिनेछ र पुराना घर संरचनालाई सुचिकृत गरिनेछ । यसरी सुचिकृत या नक्सा पास भएका घरहरुलाई पालिका वडा वा अन्य निकायवाट दिलाईने सुविधामा प्राथमिकता दिईनेछ।

 नेपालटार देखी द्धारे भन्ज्याँङ्ग जोडने सडक, देउलीकुना देखी रुन्चे भन्ज्याँग जोडने र पर्यटकीय स्थल परेवा झरनालाई पालिका स्तरीय गौरवको आयोजना संचालनका लागि संघिय र प्रादेशिक समपुरक र विशेष अनुदान साझेदारीमा संचालन गरिनेछ।

 पालिकाको सडकको वास्तविक अवस्था पहिचान र विकासका लागि सडकको ईन्भेन्ट्री तयार गरिनेछ ।

 ५ वर्ष भित्र शुद्ध खानेपानी सुविधा प्रदानका लागि १ घर १ धाराको अवधारणा कार्यान्वयन गरिनेछ । खानेपानी पुगेको ठाँउमा मिटर जडान र नियमन गरिनेछ।

 केन्द्रीय, साना तथा लघु विद्युत एवं वैकल्पिक उर्जाका मध्यमबाट आ व २०७९।८० भित्र सवै घरधुरीमा विद्युत सेवा पुर्याईनेछ र हालको समुदायीक विद्युत सेवालाई केन्द्रीय प्रसारण कार्यक्रममा समावेश गर्न पहल गरिनेछ ।

 औधोगिक ग्रामका लागि जग्गा प्राप्ती र विस्तृत अध्ययन गरिनेछ।

 गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयहरुको भौतिक संरचना निर्माण तथा व्यवस्थापनलाई क्रमश पुरा गर्दै लगिनेछ।

 खेतीयोग्य भुमिको सिँचाईका लागि सम्भावित क्षेत्रहरुको पहीचान गरि आवश्यक पहल गरिनेछ।

 गाउँपालिकाका वडाहरुमा खेलमैदान निर्माण कार्यलाई क्रमागत योजनाको रुपमा संचालन गरिनेछ।

 ५ बर्ष भित्रमा पालिकाको केन्द्र जोडने गढी नेपालटार सडकलाई कालोपत्रेमा स्तर उन्नती गरिनेछ ।

 कटारी वाहुनीटार ब्वासे माङसीङटार जरुवा सडक खण्ड निर्माण तथा स्तर उन्नती गर्दै लगिनेछ।

 सन्चारको पहुँच नभएका उदयपुरगढी गाउँपालिकाका सम्पुर्ण वडाहरुमा भरपर्दो संचार सेवा प्रवाहको लागि टेलिफोन टावर सन्चालनको पहल गरिनेछ।

 सडक निर्माण तथा व्यवस्थापन कार्य संचालन गर्दा नयाँ ट्रयाक ओपनलाई निरुत्साहीत गर्दै चालु सडकहरुको स्तर उन्नती तथा स्थायीत्व दिनुका साथै निर्माण कार्यलाई प्रत्यक्ष रोजगारमुलक बनाईनेछ ।

 गाँउपालीकावाट गरिने निर्माण कार्यहरुलाई प्रतिस्पध्रा मार्फत कार्य अगाडी वढाईनेछ।

 उपभोक्ता समिति मार्फत गरीने निर्माणका कार्यहरुमा हेभि मेसीनको प्रयोगलाई निरुत्साहीत गरी श्रम मुलक कार्यको निती अवलम्बन गरीनेछ।

 यस गाँउपालीकाको क्षेत्र भित्र निर्माण हुने भवनको घर जग्गा नापी नक्सा बाटो अभिलेखिकरण गर्ने व्यबस्था मिलाईनेछ।

सामाजीक विकास तर्फ :

शिक्षा तर्फ

 शैक्षिक योजना निर्माण तथा स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ ।

 विद्युतको पहुँच भएका आधारभुत तहका विद्यालयहरुमा ICT कार्यक्रम सञ्चालन गरिनेछ।

 नमुना विद्यालय विकास सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।

 गाँउपालिका स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ।

 राष्ट्रपती रनिङ्ग शिल्ड (विद्यालय स्तरीय) प्रतियोगीता संचालन गरिनेछ।

 मागको आधारमा विद्यालयको भौतीक पूर्वाधार निर्माण तथा संभार गरिनेछ ।

 प्राविधिक शिक्षा (कृषि, पशु) पढन चाहाने गरिव तथा जेहेन्दार विद्यार्थिहरुलाई छात्रवृति प्रदान
 गरिनेछ।

 विद्यालय खानेपानी सरसफाई स्वच्छता कार्यक्रम योजना निर्माण गरि कार्यान्वयन गरिनेछ।

महिला बालवालिका तर्फ :

 महिला वालवालिका सामाजीक सुरक्षा, धर्म, संस्कृति आदीलाई संरक्षण संवर्द्धन तथा जगेर्ना गरिनेछ।

 महिला सहकारी संस्थाहरुको आर्थिक अभिवृद्धिमा जोड दिईनेछ ।

 दलित उत्थान कार्यक्रम संचालन गर्ने ।

 आदिवासी जनजातिहरुको धर्म संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्द्धन कार्यक्रम गरिनेछ।

 महिला हिँसा तथा लैङ्गिक हिँसा न्यूनिकरणमा जोड दिने कार्यक्रम ल्याईनेछ । साथै लैङ्गिक हिँसा निवारण कोष स्थापना गरि सञ्चालन गरिनेछ ।

 एक वडा एक महिला उद्यमी उत्पादन गरिने कार्यक्रम तय गरिनेछ ।

स्वास्थ्य तर्फ :

 स्वास्थ्य क्षेत्रका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ।

 स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारद्धारा निशुल्क वितरणका लागि घोषणा गरिएका औषधीको आवश्यकता अनुसार परिपूर्ति गरिनेछ । साथै स्वास्थ्य संस्थामा किशोरी मैत्री सेवा प्रवाह गरिनेछ।

 मासिक रुपमा सञ्चालित गाँउघर क्लिनिकहरुलाई निरन्तरता दिईनेछ ।

 स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माणमा जोड दिईनेछ । तावाश्री स्वास्थ्य चौकीलाई यसै आ.व. मा निर्माण कार्य थालनी गरिनेछ भने वर्षे स्वास्थ्य चौकीको विस्तृत विवरण अध्ययन गरिनेछ।

 औषधी तथा स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन सरसफाई र स्वास्थ्य सुरक्षा सामाग्रीहरु व्यवस्था गरिनेछ।

 वडाका स्वास्थ्य चौकीवाट प्रदान गरिने सेवामा सवैको पहुँच तथा सहभागीता समान रुपले हुने गरि आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

 स्वास्थ्य चौकी तथा गाँउघर क्लिनीक कार्यक्रमको माध्यमवाट जेष्ठ नागरिक नियमित स्वास्थ्य परिक्षण गर्नुका साथै समुदायमा आधारीत स्वास्थ्य चौकी मार्फत जेष्ठ नागरिक असहाय अपाङ्ग व्यक्तिहरुको लागि निशुल्क उपचार तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ।

 विगतको समयमा स्वास्थ्यलाई ख्याल राखी झाडापखाला, महामारी, कोभिड १९, भुकम्प जस्ता जोखीम र त्यस्को न्यूनिकरण तर्फ जनचेतना तथा समाधानका उपायहरु अवलम्वन गरिनेछ ।

 गाँउपालिकालाई पूर्ण खोप, दिगोपना, जिरो होम डेलीभरी सुत्केरी तथा नवजात शिशु स्याहार सेवा कार्यक्रम प्रबाह तथा संचालन गरिनेछ।

 स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको कार्य सम्पादन र स्वास्थ्य सामाग्रीको नियमन व्यवस्थापनका लागि विद्युत्तिय प्रविधिको प्रयोग मार्फत सुशासन कायम गरिनेछ ।

 अति विपन्न परिवारलाई स्वास्थ्य विमा कार्यक्रम मार्फत स्वास्थ्यमा पहुँच विस्तार गरिनेछ ।

 पालिका भित्रका वर्थिङ्ग सेन्टरमा नियमित चेक जाँच गराई वाल वच्चा जन्माउने सुत्केरीहरुलाई यातायात सहयोग बापत रु. १५०० दिने व्यवस्था मिलाईएको छ ।

 स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई गाँउघर क्लीनिकमा काम गर्दा थप सेवा सुविधाको व्यवस्था मिलाईएको छ।

 स्वास्थ्य स्वयंसेविकाहरुलाई गाँउघरमा खटेर सुविधा दिएवापत थप सुविधाको व्यवस्था गरिएको छ।

संस्थागत विकास तथा सुशासन

 जनप्रतिनिधिहरुलाई योजना तर्जूमा सम्वन्धी तथा करदाताहरुलाई करदाता शिक्षा सम्बन्धि गोष्ठी सञ्चालन गरिनेछ ।

 जनप्रतिनिधि तथा कर्मचारी शाखा प्रमुखहरुलाई कार्यलय व्यवस्थापन, सेवा प्रवाह, सिफारिस तथा प्रमाणिकरण सम्बन्धि तालिम दिईनेछ ।

 उपभोक्ता समितिहरुलाई आयोजना संचालन सम्बन्धि तालिम दिईनेछ ।

 प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुलाई कम्प्यूटर,ज्ञान,सिप र क्षमता विकासका लागि तालिमहरु सन्चालन गरिनेछ ।

 विषयगत समितिका पदाधिकारीको काम कर्तव्य र अधिकार सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरिनेछ ।

 मेलमिलाप सिप तथा न्यायिक सम्पादनको लागि न्यायिक समिति तथा वडा अध्यक्षहरुलाई तालिम प्रदान गरिनेछ ।

 मेलमिलाप केन्द्र व्यवस्थापन तथा मेलमिलाप कर्ता पुनर्ताजकि तालिम प्रदान गरिने छ ।

 गा.पा. को प्रशासनिक भवन निर्माण गर्न Soil Test, DPR, IEE र ठेक्का समेतका लागि आवश्यक रकम विनियोजन साथै संघिय साझेदारीमा प्रस्ताव गरिनेछ ।

 क्वाटर भवन सम्पन्न गर्ने र माथी मीटीङ्गहल थप्ने तथा सवारी साधन पार्कीङ्ग स्थल समेत निर्माण गरिनेछ ।

 वडा नं ३ र १ को वडा भवनका लागि Soil Test DPR तथा वडा नं ४ र ७ को वडा भवन निर्माण सम्पन्न गरि सेवा प्रवाह गरिनेछ ।

 वडा, स्वास्थ्य संस्थाहरुमा ई हाजिरी जडान तथा Monitoring गरिनेछ ।

 कर्मचारी तथा जनप्रतिनिधिहरुलाई नेतृत्व विकास, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तालिम प्रदान गरिनेछ । न्यायिक समिति, विद्येयक समिति र लेखा समितिलाई कानून निर्माण, कार्यन्वयन सम्बन्धि तालिम प्रदान गरिनेछ ।

 अति विपन्न गर्भवती महिलाहरुलाई संयन्त्र वनाई सिफारीसका आधारमा स्वास्थ्य संस्था सम्म जानको लागि निशुल्क यातायात सुविधा प्रदान गरिनेछ।

 टोल विकास संस्थाहरु गठन तथा व्यवस्थापन गरी साना तिना निर्माणका कार्यहरु उक्त संस्थाहरुबाट संचालन गरिनेछ।

 कार्यालयलाई आवश्यक पर्दा सम्झौताका आधारमा मात्र मिडीया कार्यक्रम सन्चालन गरिनेछ ।

 अशक्त अपाङ्ग भएका व्यक्ती तथा ९० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई मात्र सामाजीक सुरक्षा भत्ता विवरण सम्वन्धित वैक संग सहकार्य गरि पालिकाको कर्मचारी समेत खटिगई गाँउघरमागई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ।

 स्वस्थ्य रहनका लागि योग शिक्षामा जोड दिईनेछ।

 गाँउपालिकामा हेल्प डेस्क र सुविधाजनक प्रतिक्षालय स्थापना गरि सेवा प्रवाहमा सहजिकरण गरिनेछ।

 गाउँपालिका भरि खटीएका कर्मचारीहरुलाई कार्य सम्पादनको अधारमा आउने अधिवेशन देखी पुरस्कृत गर्दै हरेकको काममा थप उत्साह ल्याउने कार्यको थालनि गरिनेछ।

आर्थिक विकासः

 सम्भावित नयाँ सिंचाई आयोजनाहरु निर्माण गरी थप जग्गामा सिंचाई सुविधा पुयाई कृषि उत्पादनमा बृद्धि गर्दै जाने नीति अबलम्बन गरिनेछ ।

 संचालित सिंचाई आयोजनाहरुको कम्तीमा १० वटा सिँचाई मर्मत तथा स्तरोन्तति गरी बाटै महिना सिंचाई सुविधा पुरÞ्याउने नीति लिइनेछ।

 साना सिंचाई कार्यक्रमसँग समन्वय गरी यस अन्तर्गत गठित जल उपभोक्ता समूहहरुलाई थप सहयोग गरिने छ।

 “चिनौ आफ्नै माटो, वनाऔ आफ्नै ठाँउ“ कार्यक्रम सन्चालन गरि युवाहरुलाई कृषि पेशामा आकर्षित गरिनेछ।

 व्यवसायीक कृषि घरेलु तथा साना उद्योग विकासका लागि आवश्यक प्रोत्साहन गरिने र स्थानीय उत्पादनको उपभोग र प्रवर्द्धनमा जोड दिईनेछ । लघु उद्यम सम्बन्धी आवधिक योजना अनुरुप कार्यक्रम संचालन गरिनेछ।

 खेतियोग्य जमिन बाँझो खेत राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्थानीय निकायको संलग्नतामा उपयुक्त्त संस्थागत संरचना तथा व्यवस्था लागू गर्दै गाउँपालिका क्षेत्रको कृषि भूमिको संरक्षण तथा उत्पादकत्व अभिवृद्धि गरिने ।

 पहिचान गरिएका गरिव घरधुरीहरुलाई लक्षीत गरेर जिविकोपार्जनका कार्यक्रमहरु सन्चालन गरिनेछ ।

 उद्यमशिलतालाई प्रोत्साहन गर्दै वर्षेनि एक वडा एक महिला लाई कुशल उद्यमीको रुपमा विकास गरीनेछ ।

 कृषि तथा वन पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु सन्चालनमा ल्याईनेछ ।

 खाद्य वस्तुको उत्पादन वढाउन तथा लागत घटाउने कार्यक्रमहरु ल्याईनेछ।

 कृषिमा युवाहरुलाई आकर्षित गर्न युवा उद्यमीहरुलाई स्थानीय संभावना तथा तुलनात्मक लाभ समेतलाई दृष्टिगत गरी, वस्तुको पकेट क्षेत्र विकासलाई जोड दिई एक वडा एक कृषि उत्पादन कार्यक्रमको अबधारणलाई अगाडी बढाईने छ । यस्ता क्षेत्रमा प्रविधि एवं प्राविधिक सेवा तथा कृषि सडक, ग्रामीण विद्युतीकरण, सिँचाइ, कृषि वजार व्यवस्था जस्ता सुविधाहरु एकीकृत रुपमा परिचालन गरिनेछ।

 कृषकको आय आर्जन क्षमता अभिवृद्धि मार्फत जीविकोपार्जन सुधार गर्न स्थानीय संभाव्यताको पहिचान गरी सिमान्त कृषकहरुलाई आयमूलक कार्यक्रम संचालन गरिने।

 कृषिमा आश्रित घरेलु उद्योग स्थापना गर्न व्याज अनुदान तथा सुलभ कर्जा प्रवाहको लागी स्थानियतहमा कार्यरत वित्तिय संस्थाहरुसँग समन्वय गरिने छ ।

 सहकारीमा आधारीत कृषि उद्योग एवं व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिईने छ ।

 विपन्न वर्ग, दलित तथा महिला वर्गवाट कृषि उत्पादन गर्न लक्षित कार्यक्रम संचालन गरिनेछ तथा सो वर्गबाट कृषिमा आधारित उद्योग स्थापना गर्न विशेष प्राथमिकता दिईने ।

 अनुदान प्रवाह गरि सञ्चालन हुने कार्यक्रमहरुमा कृषि तथा पशुपन्छी विमालाई अनिवार्य गरिने छ भने आमरुपमा समेत कृषि तथा पशुपन्छी विमालाई प्रवर्द्धन गर्न विशेष प्राथमिकता दिईनेछ ।

 सरकारी अनुदान प्राप्त गर्ने अनुदखान ग्राहकहरुले अनुदानको रकम अपचलन गरे अनुदान रकम सरकारी बाँकि सरह असुल उपर गर्नुका साथै कालो सुचीमा राखीनेछ । त्यस्तो कृषक समुह,सहकारी वा व्यक्तीलाई कुनै पनि प्रकारको सरकारी अनुदान सुविधा प्रदान वा सिफारीस गरिने छैन । यसका लागी नियमित अनुगमन गरि आवश्यक पृष्ठपोषण गर्न अनुगमन संयन्त्र गठन गरिने छ ।

 बैदेशिक रोजगारवाट फर्की पालिकामै कृषि तथा पशुजन्य व्यवसाय गर्ने समुह,सहकारी तथा फर्महरुलाई साझेदारीमा अनुदान प्रदान गरिनेछ ।

 श्रोत साधनको सिमितता एवं कार्यगत सहकार्यका लागी स्थानियस्तरमा कार्यरत अन्य सरकारी तथा गैरसरकारी निकायहरुलाई यस रणनितिले निर्दिष्ट गरेका उपक्षेत्रहरुमा लगानी गर्ने वातावरण सिर्जना गरिनेछ तर यस्तो प्रकारका सुविधा दोहोरो हुन नदिने नीति अवलम्बन गरिनेछ ।

 राष्ट्रिय तथा प्रादेशिक महत्वका बालीहरुमा संघिय र प्रदेश सरकारले कायम गरेका लक्ष्य तथा उद्देश्य प्राप्ति गर्न समन्वय र सहकार्यको आधारमा कार्यक्रम तर्जुमा गर्ने निति अवलम्बन गरिने छ ।

 जलबायू परिवर्तनका असरलाई न्यूनिकरण एवं अनुकुलनका उपायहरु अवलम्बनलाई प्राथमिकताका साथ अगाडी बढाउन जलबायू मैत्री कृषि प्रविधिहरुको प्रयोगलाई प्रोत्साहन गरिनेछ । गाँउपालिकाको कृषि विकासको लागी तयार भएको रणनिति लाई समेटने गरि कार्यक्रम सन्चालनका लागि योजना तयार गरीनेछ।

 खेतीका लागि आवश्यक सिचाईको प्रबन्ध मिलाउन हाल सञ्चालनमा रहेका कुलोहरुलाई स्तर उन्नति गर्ने साथै SIP संग २० प्रतिशत लागत सहभागीता गाउपालीकाले व्यहेर्नेगरी थप सिचाई परीयोजना संचालन गरीनेछ यसका साथै पाइप,प्लाष्टिक पोखरी सिँचाई मार्फत सिचाइको व्यबस्था गरि तरकारी उत्पादनमा बृद्धि गरिने छ।

 माटो परिक्षणका आधारमा पकेट क्षेत्र तथा कृषि ब्लक निर्धारण गरि कृषिलाई विविधिकरण र व्यवसायिकरण गर्ने कार्यको शुभारम्भ भएको अवस्थामा यसलाई प्रभावकारी बनाउँदै लगिनेछ। खाद्यान्न वाली अदुवा वेसार सुन्तला आँप, लिचि, एभोकाडो, कागती, टमाटर मौसमी तथा वेमौसमी आलु उत्पादनको विशेष क्षेत्र तोकि कार्यक्रम संचालन गरिनेछ।

 व्यवसायिक पशुपालन,मौरीपालन ,मासु उत्पादन दुग्ध तथा पोल्ट्री ,जन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गरि आत्मनिर्भरता तर्फ उन्मुख गराईनेछ। कृत्रिम गर्भाधान तथा प्राकृतिक नश्ल सुधार लगाएतका कार्यक्रमहरु नियमित गरिनेछ।

 सहकारी वा समुह मार्फत सामुहिक चक्लावन्दी खेती तथा पशुपालन प्रणालीलाई प्रोत्साहन गरिनेछ।

 अनुपस्थित भुस्वामित्व तथा खेतियोग्य जमिनलाई बाँझो राख्–ने प्रबृत्तिको अन्त्यका लागि पहल गरिनेछ । साथै कफी लगायत उच्च मुल्यका खेति तर्फ प्रवर्द्धन गरिनेछ।

 बाँझो जग्गालाई हरियाली वनाउने कार्यक्रम तय गरिनेछ।

 कृषि उपजको बजारीकरणका लागी उत्पादनोपरान्तका क्रियाकलापहरु सहज तुल्याउन सहकारी निजि – सरकारीको क्षेत्रको साझेदारिमा पोष्ट हार्भेष्ट सेन्टर, केट, प्रशोधन केन्द्र आदी पुर्वाधारहरुको विकास र विस्तार गरिनेछ ।

 तीन खम्बे अर्थनितिलाई (सरकार,सहकारी र निजी क्षेत्र) अवलम्बन गरि सहकारी मार्फत आर्थिक बृद्धि र विकासमा जोड दिइनेछ । यसका लागि नियमन प्रवर्दन र प्रशिक्षणको माध्यमबाट सहकारी क्षेत्रको विकास गरिनेछ।

 माटो तथा खाद्यतत्वको दिगो व्यवस्थापनका लागि माटो परिक्षण शिविर संचालन, एकीकृत खाद्यतत्व व्यवस्थापन पाठशाला संचालन, कृषि प्रसारका विभिन्न शैक्षिक तरिकाका माध्यमबाट सूक्ष्म खाद्यतत्व, हरियो मलको प्रयोग तथा सन्तुलित मलखाद्यको प्रयोगमा बढावा निन्तरता दिईनेछ ।

 पशु स्वास्थ्यमा सुधार गर्न पशु चिकित्सा कार्यक्रम, पशु खोप कार्यक्रमलाई संस्थागत गर्दै लगिनेछ

 दुध तथा दुग्ध जन्य पदार्थको विक्री वितरणलाई सुव्यवस्थित गर्न सहकारी तथा नीजि क्षेत्रलाई डेरी फार्म संचालन तथा क्षमता अभिवृद्धिका लागि प्रशोधन उपकरण,दुग्ध विश्लेषण यन्त्र तथा चिलिङ्ग भ्याटमा अनुदान उपलब्ध गराईनेछ ।

 “पशुपन्छीको नश्ल सुधारः उत्पादकत्व र उत्पादन वृद्धिको आधार“ भएकोले गाई, भैसी, बाख्राको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई प्रभावकारी बनाई उन्नत नश्लका पशुहरुको संख्या आगामी ५ बर्ष भित्र दोब्बर हुने गरी वृद्धि गर्दै लैजान कृतिम गर्भाधान कार्यक्रमलाई संस्थागत गर्न स्थानियस्तरमा ग्रामिण पशु सेवा कार्यकर्ता विकास तथा परिचालन तथा तरल नाइट्रोजनको यथोचित व्यवस्थापन गरिनेछ।

 पशुपन्छी पालनको व्यवसायीकरण तथा विविधीकरणमा जोड दिई आय आर्जन तथा रोजगारीका थप अवसरहरु सिर्जना गरिनेछ ।

 गाँउपालीका भित्रका एक जना कृषकलाई उत्कृष्ठ कृषकको रुपमा पुरस्कारको व्यवस्था गरिनेछ ।

 व्यवसायिक कृषि र खाद्य सुरक्षा सुनिश्चितताका लागि गैर्ह सरकारी संस्थाहरु संग सहकार्य कार्यक्रमहरु सन्चालन गरिनेछ साथै त्यस्ता कार्यक्रमहरुको प्रभावकारीताको उचित अनुगमन र नियमन गरिनेछ ।

वन, वातावरण तथा विपद व्यवस्थापनः

 गाउँपालिका क्षेत्र भित्रका प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक निजी तथा व्यक्तीगत सम्पत्ति, प्राकृतिक एवम सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नका लागि गाँउपालिकाबाट विनियोजित कार्यक्रमहरु दोश्रो चौमासिक भित्रमा सम्पन्न गरिनेछ।

 संघिय सरकारले दिएको ढाँचामा स्थानिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, नियम, कार्यविधि, रणनीतिहरु तयार एवं स्विकृत गरी कार्यान्वयन गरिनेछ।

 आपतकालिन कार्य संचालन केन्द्र तथा विपद व्यवस्थापन कोषलाई निरन्तरता दिईनेछ ।

 वन वातावरण जोगाउन IEE, बृक्षारोपाण, क्रेट जाली वितरण र फोहोर मैला व्यवस्थापन गरिनेछ।

 प्रकृतिक प्रकोपवाट आउने विपद् जोखिम न्यूनिकरणको लागी अर्थिङ्ग डिलाइटिङ्ग तथा फायर स्टीङ्गगेशरको व्यवस्था र गाउँपालिका भित्र रहेको एम्बुलेन्स मर्मत तथा व्यवस्थापन गरिनेछ, रौतामाई गाउँपालिकासंगको साझेदारी दमकल सुविधालाई निरन्तरता दिईनेछ । सोका लागि आबश्यक रकम विनियोजन गरिनेछ।

 कोरोना लगायतका महामारी रोग रोकथामका लागि विपद् व्यवस्थापन कोष र स्वास्थ्य शाखाको सहकार्यमा अधिकृत स्तरको मेडीकल सेवा ५ वेडको कोरोना अस्पताल तथा जोखिम न्युनिकरणको स्वास्थ्य व्यवस्थापन लाई निरन्तरता दिइनेछ ।

 विपद् जोखिम उत्थानशिल आयोजना संचालन गरिनेछ।

 पहिरो संरक्षण,नदी कटान रोक्ने, सडक पाखा संरक्षण तथा सडक नाली व्यवस्थापन गरिदै लगिनेछ।

 जोखिम संवेदनशील क्षेत्र पहिचान, जोखिम न्युनीकरण सचेतना कार्यक्रम तथा स्वयम् सेवक परिचालनको व्यवस्था गरिनेछ।

 गाँउपालिका स्तरबाट नै फोहरमैला व्यवस्थापनका लागि सवारी साधनको व्यवस्थापन गरिनेछ सो को लागि यहि आर्थिक वर्षमा वजेट विनियोजन गरिनेछ।

 सामुदायीक वनमा पर्यापर्यटन तथा प्राकृतिक वगैचा कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।

 गाँउपालिकाको वडा नं. १,२,३,४ र ८ नं. वडालाई गैह्र काष्ठ जडीवुटी अन्तर्गत तेजपत्ताको पकेट क्षेत्रमा समावेश गरि कार्यक्रमबाट प्रदेश तथा संघिय सरकारसंग समन्वय गरि कार्यक्रम सञ्चालन गरिनेछ।

अन्त्यमा परिवर्तित संघिय राज्य संरचनाको नौलो अभ्यासमा गहन जिम्मेवारी बोध गर्दै यस उदयपुरगढी गाँउपालिकाको गरिमामय सभामा प्रस्तुत गरिए बमोजिमका अपेक्षित उपलब्धि हासिल गर्न सम्पुर्ण सभा सदस्यज्युहरु सहयात्री सरकारी तथा,नागरिक समाज, सुरक्षाकर्मी, राजनीतिक दल, शिक्षक, कर्मचारी, गैरसरकारी संस्था–संघ पत्रकार लगाएत आम उदयपुरगढी गाँउपालिका वासीको अमुल्य सहयोग तथा सहभागिताले मात्र संभव हुने कुरा अवगत नै छ । तसर्थ यस गाउँपालिका भित्र संचालन हुने हरेक क्रियाकलापहरुमा यहाँहरु सबैको सार्थक सहभागिता तथा कार्यान्वयनमा तत्परताले नै यस उदयपुरगढी गाँउपालीका उज्यालो, समृद्ध र समुन्नत बनाउने अपेक्षा सहित यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दै विदा हुन्छु ।
धन्यवाद।
मान वहादुर केप्छाकी मगर
अध्यक्ष
उदयपुर, उदयपुरगढी ,उदयपुरगढी गाउँपालिका

 

तपाईको प्रतिक्रिया