उदयपुर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ तर निर्वाचनले विभिन्न रेकर्ड कायम राखेर गएको छ । स्थानीय तहको अन्तिम मतपरिणाम अनुसार उदयपुरका दुई जना वडा अध्यक्षका उम्मेदवारले १ मत पनि प्राप्त गर्न नसकेका हुन ।उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार बनेका रेवती कुमार श्रेष्ठले ० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार पुतली चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्हमा कुनै मत नपरेको हो ।

दुई स्वतन्त्र सहित ६ जना वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकोमा उक्त वडामा एमालेका उम्मेदवार थिर बहादुर राउत ३ सय ८७ मत प्राप्त गरि विजयी बनेका छन । भने राउतको निकटम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार रुद्र बहादुर तामाङ्गले ३ सय ३४ मत प्राप्त गरेका थिए । ५९ बर्षिया श्रेष्ठ विप्लब नेकपासँग सलग्न रहेको बुझिएको छ ।

त्यस्तै बेलका नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार धनबहादुर विष्टले पनि ० मत प्राप्त गरेका छन । काँग्रेस पृष्ठभूमिका विष्टले नेकपा एमालेका आधिकारिक उम्मेदवार कोपिला प्रसाद अधिकारीलाई समर्थन गर्दै उम्मेद्वारी हापेका थिए । तर निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी फिर्ता नलिएकाले उनी आयोगको रेकर्डमा उम्मेदवार कायम नै रहेका छन । विष्टले एमाले उम्मेदवारलाई समर्थन गरेपनि उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार तिर्थराज अधिकारीले झिनो मतान्तरले जित हात पारे । काँग्रेसका अधिकारीले ५ सय ६ मत प्राप्त गरे भने एमालेका अधिकारीले ५ सय ३ मत मात्र प्राप्त गर्न सके ।

उदयपुरको अन्तिम मतपरिणाम अनुसार प्रमुख पदमा सबै भन्दा बढि मत प्राप्त गर्ने र सबै भन्दा कम मत प्राप्त गर्ने पालिका त्रियुगा बनेको छ । त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार बसन्त कुमार बस्नेतले १३ हजार ९ सय ५९ मत प्राप्त गरेर विजयी बने भने जनता प्रगतिशिल पार्टी नेपालका उम्मेदवार शेख इसराईलले सबै भन्दा कम २ मत मात्र प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया