उदयपुर । एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा देखिएकै छ । यही रोग स्थानीय तहसम्म पुगेको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन‚ सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि यसपालि पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् ।
उदयपुरका ८ स्थानीय तहमध्ये ६ पालिकाका प्रमुख तथा अध्यक्षले उही पद दोहो¥याउन चुनावी प्रतिस्पर्धा गर्दैछन् । एक वटा पालिका उपप्रमुख तथा उपाध्यक्षले सोही पद दोहो¥याउँदै छन् । सत्ता मोह यतिसम्म छ कि चौदण्डीगढी नगरपालिकामा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । चौदण्डीगढी नगरपालिकाका प्रमुखमा खगेन्द्र राई र रिता कुमारी चौधरी दोस्रो पटक पद लिनका लागि चुनावी मैदानमा छन् । उनीहरू दुवै नेपाली काँग्रेसबाट विजयी भएका थिए ।
यस्तै त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट निर्वाचित मेयर बलदेव चौधरी पुनः प्रमुखको लागि उम्मेदबारी दिएका छन् । माधव कुमार नेपाल नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष हुन् । प्रमुखका प्रतिस्पर्धी चौधरीले आफू प्रमुख भएपछि थालिएका कतिपय दीर्घकालीन योजनाहरू पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न पुनः नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा गएको बताए । आफ्नो नभई पार्टीको रायमा आफूले उम्मेदवारी दिएको उनले जनाए । ‘धेरै अत्यावश्यक र दिर्घकालिन काम थालें । तर‚ सबै काम ५ वर्षमा पूरा भएन,’ उनले भने, ‘नगरपालिका नमूना बनाउन पुनः यही नेतृत्व चाहिन्छ भन्ने चाहनाअनुसार मतदातामाझ जान लागेको हुँ ।’
कटारी नगरपालिकामा प्रमुखको लागि पुनः ज्ञानेन्द्र श्रेष्ठले उम्मेदबारी दिएका छन् । उनी एमालेबाट चुनाव लड्दैन् । एमालेमा उनी बाहेक अरु प्रतिष्पर्धामा नदेखिएपछि श्रेष्ठ नै चुनावी प्रतिष्पर्धामा रहेको एक नेताले बताए । कटारी नगरपालिकाका निवर्तमान उपमेयर मेयरको बागी उम्मेदबार बनेको छ ।
नेकपा एमालेबाट बेलका नगरपालिकामा पुनः दुर्गा कुमार थापालाई टिकट दिएका छन् । उनलाई उपमेयर रामकुमारी चौधरीले नै भ्रष्टचारीको आरोप लगाएपछि बेलकाबासी आन्दोलित भएका थिए । उनले २० हजार घर परिवार उठिबास लगाउने गरी कबुलियत वन बनाउन सिफारिस गरेपछि ठूलो आन्दोलन हुन पुगेको थियो । आन्दोलनले नगरपालिका भवन तोडफोड भएको थियो भने दर्जनौं सर्वसाधारण घाइते भएका थिए । यस्तै मूर्तिका काण्डले पनि ठूलो विवाद लिएको थियो । ६७ लाखमा निर्मित सुगुरको मूर्तिको आकार बंगुरको जस्तो भएपछि विवादित भएका हुन् । यस्तै ७८ लाखमा बन्ने अक्सिजन प्लान्ट १ करोड ३३ लाखमा सोझै उपभोक्तामार्फत एक कम्पनीलाई जिम्मा लगाएपछि केहि विवादित बनेको छ ।
यस्तै उदयपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर केप्छाकी मगर पुनः सोही पदमा उम्मेदबारी दिएका छन् । उनले तीन दलिय गठबन्धनबाट अध्यक्षमा उम्मेदबार दिएका छन् ।
यस्तै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षमा मेयर कुमार राई पुनः सोही पदमा उम्मेदबार दिएका छन् । उनीहरू आफूले गरेका राम्रा काममा गति लिन र यसअघि गर्न नसकेका कामलाई पूर्णता दिन पुनः सोही पद दोहो¥याएको दाबी गर्दै मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् ।
लिम्चुङबुङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रमिला राईले काँग्रेसको बागी उपाध्यक्षमा उम्मेदबार दिएका छन् । लिम्चुङबुङ गाउँपालिकामा तीन दलिय गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई अध्यक्ष, नेकालाई उपाध्यक्ष र सदस्यहरुमा नेकपा एसलाई दिइएको छ । नेकाबाट उपाध्यक्षमा पुष्पलाल राईले उम्मेदबारी दिएका छन् ।









