एमालेमा नगर प्रमुख देखि वडा वडामा पनि बागी उम्मेदबार
उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदबारी दिएका कृष्ण प्रसाद बराल (केपी बराल) लाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ । बराललाई माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनु भएको थियो ।
मंगलबार उदयपुर उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन गर्दै सो गठबन्धन कम्युनिष्टहरुको वाम गठबन्धन भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । सम्मेलनमा बोल्दै बरालले माओवादी केन्द्रमै रहेको र आफु स्वतन्त्रबाट मेयरमा उठेको बताउनुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा सम्मान जनक ५ हजार पाँच सय ६४ मत ल्याई पराजित भएका थिए ।
माओवादी केन्द्रको वडातहदेखि आफुलाई मेयरका लागि सिफारिस गरेको र प्रचण्डसम्मले टिकट दिने प्रतिवद्धता जनाएको स्मरण गराउँदै जनभावना विपरित नेकपा माओवादी केन्द्रीय सदस्य सुरेश राई (हिमाल) र जिल्ला समन्वय समिति अध्यक्ष विनोद कटुवाल (दिवस) ले काँग्रेससँग अपवित्र गठबन्धन गरेको उहाँले आरोप लगाउनु भयो ।
गठबन्धन भएपनि वडातहमा आफ्नै उम्मेदबारी सार्वजनिक गरिनु र स्वतन्त्रबाट समेत उम्मेदबारीहरु आउनुले सो गठबन्धन कार्यान्वयनमा नआएको पनि बरालको भनाई थियो । जनताको काममा क्रियाशिल रहेको बताउँदै बरालले कटारीलाई एउटा नमुना नगर बनाउन र सबैसँग सहकार्य गरेर अघि बढ्न आफुलाई भोट दिन अपिल गर्नुभयो ।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा हृदय थिङ्गले उम्मेदबारी दिनु भएको छ । उहाँले पनि कटारी नगरपालिका नगरबाट विकसित नभई झनै गाविसजस्तो बन्दै गएकोले आफुले नगर कस्तो हुने त्यो बनाउने क्षमता रहेको बताउनुभयो । हामी कटारी नगरपालिकालाई विकासको लागि योजनाहरुलाई नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टिपेक्स लगाउनेसम्मको काम गरेको समेत उनको आरोप रहेको छ ।
कार्यक्रममा नेकपा एकीकृतका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले कटारी नगरको भ्रष्टाचार अन्त्यका लागि वाम गठबन्धनका उम्मेदबारलाई भोट दिन आग्रह गर्नुभयो । खतिवडाले जटिल रोगको बाहेक निःशुल्क उपचार, प्रत्येक घरमा ५ हजार लिटर खानेपानी निःशुल्क, वार्षिक तीन सय युनिट विजुली निःशुल्क, सरकारी विद्यालयलाई गुणस्तरीय बनाउने योजना घोषणा पत्रमा रहेकोले त्यो प्रतिवद्धता पुरा गरेर देखाउने बताउनुभयो ।
खतिवडाले माओवादीका नेता सुरेश कुमार राई (हिमाल) लाई ईकिंत गर्दै ल्याइतै सांसदको उपाधि दिए । विगतमा अन्यत्रबाट ल्याईएका उम्मेदबारलाई जिताएर गलत गरेको र सोही गलतका कारण केपी बरालले टिकट नपाएको खतिवडाले आरोप लगाए । बरालले समेत राईलाई जिताउन आफुले आफुलाई राई ठानेर भोट दिन आग्रह गरेको स्मरण गर्दै हाल पार्टीमा दिएको योगदान र जनताको भावना नबुझेको बताउनुभयो ।
नेकपा एक उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष इन्दिरा पोखरेलले मेयरको उम्मेदबारी फिर्ता गर्ने र केपी बराललाई मेयरमा साथ, समर्थन र सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । बराल कटारी बासीका परिचित राजनीतिज्ञ, योगदान पुर्याएका नेता हुन् ।
एमालेको तर्फबाट २०७४ सालको स्थानीयत तहको निर्वाचनमा निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ भन्दा सर्वाधिक मतले उपमेयरमा विजयी निवर्तमान उपमेयर भिमकुमारी राउतले मेयर पदमा बागी उम्मेदबार दिएकी छिन् । एमालेबाट मेयरमा पुनः ज्ञानेन्द्र श्रेष्ठले टिकट पाएपछि उनी मनोनयनको पहिलो दिन नै बागी उम्मेदबारी दिनु भएको हो । पार्टीले उपेक्षा गरेपछि विद्रोह गर्नुपरेको उहाँको भनाई छ । उहाँले नेकपा एमाले डनबाद र धनवादको पछि लागेको समेत आरोप लगाउनु भयो ।
त्यति मात्रै होईन सत्ता गठबन्धनकै नेपाली काँग्रेसका उदयपुर क्षेत्र नम्बर २ (ख) का सभापति कृष्ण थापाले पनि स्वतन्त्र मेयरको उम्मेदबारी दर्ता गराउनु भएको छ ।
राउत, बराल र थापाको उम्मेदबारीलाई कटारीमा महत्वपूर्ण रुपमा हेरिएको छ । एमालेका पुराना र कृयाशिल तथा उपमेयरहुँदा नगरलाई समय दिएर काम गर्नु भएका राउतले एमाले विरुद्ध नै वागी उम्मेदबार दिनुभएको छ ।
यस्तै कृष्ण थापा एमाले छाडेर काँग्रेस प्रवेश गरी काँग्रेसको महाधिवेसनमा पनि २ (ख) प्रदेश सभा सभापति निर्वाचित हुनुहुन्छ । काँग्रेससँगै अन्य पार्टीमा पनि उहाँको चर्चा चल्ने गरेको छ ।
एमालेमा एमालेकै बागी र गठबन्धनमा गठबन्धन दलकै बागीका वीचमा निर्वाचनको परिणाम कसको बलियो छ, त्यो आकंलन गर्न नसकिने अवस्थामा पुगेको छ ।
त्यसै गरी वडा तहमा पनि बागी उम्मेदबार छन् । कटारी वडा नम्बर ४ मा एमालेबाट चिनवीर दनुवारले उम्मेदबारी पाउँदा एमालेकै वडा समितिका अध्यक्ष भुपेस तामाङ्गले स्वतन्त्रमा अध्यक्षमा उम्मेदबारी मनोनयन गराउनुभएको छ । वडा नम्बर ४ मा गठबन्धनले माओवादीका मुना कटुवाललाई उम्मेदबारी बनाउँदा काँग्रेसका गोपी पराजुलीले स्वतन्त्रमा वडाअध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
कटारी वडा नम्बर २ मा गठबन्धनबाट काँग्रेसका प्रेम थापा उम्मेदबार बन्दा सरस्वती गुरुङ्गले वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिनुभएको छ । गूरुङ्ग पनि बलियो उमेद्वारको रुपमा रहेको स्थानीय बताउँछन् ।
त्यसैगरी कटारी ११ मा एमालेले अनन्त हायुलाई वडाध्यक्षको उम्मेदबार बनाउँदा एमालेकै संञ्जिव वस्नेतले वागीमा वडाध्यक्षमा उम्मेदबारी दिनुभएको छ ।
असन्तुष्टहरुले विद्रोह गर्दै वागीमा धमाधम उम्मेदबारी दर्ता गराएपछि अव कसको उम्मेदबारी अन्तिमसम्म रहन्छ र कसकसले कुन कुन रणनीति अपनाउँछन हेर्न बाँकी छ ।









