उदयपुर । यहि ३० गते हुन गईरहेको स्थानीय तहको उम्मेदबार चयनमा नेकपा एमालेले टुङ्गो लगाएको छ भने गठबन्धनमा अझै टुङ्गो लगाउन बाँकी रहेको छ । त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ

त्रियुगा नगरपालिकामा निर्वतमान अध्यक्षलाई पाखा लगाउँदै भागवत राउतले मेयरको टिकट बाजी मारेको छ भने उपमेयरमा महेश्वरी राईको नाम टुङ्गो लागेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । उपमेयरमा सृजना दनुवारको नाममा टिपेक्स लागेको छ ।

यता त्रियुगा नगरपालिकामा पाँच दलिय गठबन्धन नहुने भएको छ । नेपाली काँग्रेसले बसन्त बस्नेतलाई मेयरको उम्मेदबार बनाएको छ भने उपमेयरको टुङ्गो लगाएको छैन् । त्रियुगामा नेकपा एस, नेकपा माओवादी र जसपा विच सहमति भएको छ । नेकपा एसबाट मेयरमा बलदेव चौधरी पुनः दोहोरिन चाहेको छ । उनी नेकपा एकीकृत समाजवादीको पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष हुन् । उपमेयरमा नेकपा माओवादीलाई दिने गरी सहमति भएपनि चार जनाको दावी परेपछि अहिलेसम्म टुङ्गा लागेको छैन् ।

यता नेकपा एमालेमा बेलका नगरपालिकामा हालका मेयर दुर्गा थापालाई मेयरको टिकट दिएको छ भने उपमेयरमा जिरा राईको नाम टुङ्गो लगाएको छ ।

चौदण्डीगढीमा मेयरमा कालूमान लामा र उपमेयरमा मनिकादेवी दुलालको नाम टुङ्गो लगाएको नेकपा एमालेको अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए ।

कटारी नगरपालिकामा पुरानै मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी)लाई पुन मेयरमा टिकट दिएको छ भने उपमेयरमा गिता खड्काको नाम टुङ्गो लगाएको छ ।

रौतामाई गाउँपालिकामा अध्यक्षमा भरत बहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारी ज्यू ठकुरीको नाममा टिकट आएको छ ।
उदयपुरगढी गाउँपालिकामा प्रदेशले खिलराज कार्कीको नाम सिफारिस गरेपनि अन्तिम नेकपा एमालेको केन्द्रिय सचिवालयले गोपाल खत्रीलाई अध्यक्षको उम्मेदबारको टिकट दिएको छ । उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।

ताप्लीमा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धव सिंह थापाको श्रीमति मन कुमारी थापालाई टिकट दिइएको छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देव कुमारी कार्कीलाई दिइएको छ ।
यता गठबन्धनमा अझैसम्म कुरा मिलेको छैन् । त्रियुगामा गठबन्धन नहुने भएको छ भने अन्यमा सहमतिको प्रयास जारी रहेको छ ।

यस्तै बेलकामा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन गर्ने भएको छ । काँग्रेसबाट मेयरमा असोक कार्कीको नाम फाइनल भएको छ भने उपमेयरको नाम अझै टुङ्गो लागेको छैन् ।

चौदण्डीगढीमा पाँच दलिय गठबन्धन गर्ने वा नगर्ने विषयमा टुङ्गो नलागेपनि मेयरमा हालका मेयर खगेन्द्र राईको नाम टुङ्गो लागेको छ । उनी नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. १ का सभापति हुन् ।

यस्तै लिम्चुङबुङमा मेयर राईको नाम अध्यक्षमा टुङ्गो लागेको छ । उनी नेकपा माओवादीबाट हुन् । यस्तै उदयपुरगढीमा नेपाली काँग्रेसले छुट्टै चुनावी मैदान रोजेको छ भने नेकपा एस र नेकपा माओवादी विच तालमेल हुने संभावना बढेको छ ।

यस्तै ताप्लीमा जनता समाजवादी पार्टीले छुट्टै उम्मेदबारी दिने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया