उदयपुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको सदरमुकाम गाईघाटमा कार्यालय स्थापना गरेको छ । सम्पूर्ण सरकारी कर्मचारी एकजुट हौं भन्ने नारासहित संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय गाईघाटमा स्थापना गरिएको हो । बुधबार एक कार्यक्रम बीच संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राईले कार्यालयको उद्घाटन गरेका हुन् ।
गत चैत्र १४ गते श्रम विभागमा संगठन औपचारिक रुपमा दर्ता भएपछि संगठनलाई थप गतिशील बनाउन र जिल्ला–जिल्लामा संगठन विस्तार गर्दै जाने कार्ययोजनाका साथ सञ्चालनमा ल्याइएको कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले निजामती कर्मचारी मात्र नभई सरकारी निकायमा कार्यरत प्रदेश, स्थानीय, स्वास्थ्यकर्मी सबै कर्मचारीलाई गोलबद्ध गर्ने गरी संगठन स्थापना गरिएको बताए । उनले नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन डेडलक भईसक्यो । उक्त संगठन प्रतिगमनका मतियारहरुको संगठन भएको आरोप लगाए ।

उनले आगामी दिनमा संगठनलाई सरकारी कर्मचारीहरुको देशको पहिलो र शक्तिशाली संगठन बनाउन सबै एकजुट हुनुपर्ने, प्रतिगमनका विरुद्ध स्थानीय चुनावमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने र संगठनलाई थप मजबूत तुल्याउन पार्टीले पनि उत्तिकै सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय सदस्य देवराज कोइराला, पेशागत महासंघ नेपाल उदयपुरका अध्यक्ष माधव राउत लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको अध्यक्षता एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरका अध्यक्ष योगेश्वर खनाल र संगठनका सचिव सचिव कृत रायमाझीले कार्यक्रम संचालन गरेका थिए ।

उदयपुरमा एकीकृत सरकारी कर्मचारी संगठन नेपालमा आवद्ध कर्मचारीको संख्या ५०१ जना रहेको छ भने देशभर १३ हजार ७ सय ५३ जना रहेको छ ।

तपाईको प्रतिक्रिया