उदयपुर / स्थानीय तहको निर्वाचनमा उदयपुरमा गठबन्धनमा आबद्ध दलहरु मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णयमा पुगेका छन् । जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले शुक्रबार एक बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जामगर, कैलाश राई सहितको उपस्थितिमा आगामी स्थानीय तहको निर्वाचनमा अधिकतम लचकताका साथ चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
निर्वाचनमा गठबन्धन गरेर जानेबारे सैद्धान्तिक सहमति जुटेर निर्णय नै भइसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष पोखरेलले बताए । ‘पाँच दल विच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरुबाट आ–आफ्नो पार्टीको बस्तुगत स्थिति समिक्षाको साथै प्रारम्भिक छलफल भएको समाजवादीका अध्यक्ष पोखरेलले जनाएको छ । गठबन्धनको आगामी बैठक चैत्र २६ गते बस्ने र प्राविधिक सहमति जुट्न साथ उम्मेदवारको बाँडफाँट हुने नेकपा माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले जनाएको छ ।
केन्द्रमा गठबन्धन सहमति नभए पनि आफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरुको भनाइ छ । अघिल्लो निर्वाचनमा ८ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको थियो । एक÷ एक पालिकामा नेकपा माओवादी र नेपाली काँग्रेसले जितेका थिए ।

यस्तै बेलका नगरपालिकामा पनि नेपाली काँग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी बेलकाको अध्यक्ष नबराज भट्टराईले बताए । बेलकामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ ।
बेलकामा ९ वडा छन् । तर गठबन्धन दलबीचमा प्रमुख र उपप्रमुख साथै ‘कुन वार्ड कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ । छिटै वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ ।









