उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीमा बाँसको चेफा मार्फत् जलमार्ग हुँदै ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । २६ दिन अघि सोही एरियाबाट चार सय केजी गाँजा सहित तीन जना पक्राउ परेको अनुसन्धान नसकिदै पुनः सोही एरियाबाट चार सय केजी लागूऔषध गाँजा पक्राउ परेको छ ।
सप्तकोशीमा चतरा पुल भन्दा माथि उत्तरतर्फबाट ९ वटा बोरामा प्लाष्टिकले बेरेर बाँसको चेफा (बाँसको चाङबाट बनाइएको डुंगा) माथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगि रहेको अबस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन् ।

उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ । विकट गाउँहरुमा उत्पादित गाँजा यस अघि कटारी रुट हुँदै भारतीय बजारसम्म जाने गरेकोमा पछिल्लो समय सप्तकोशी नदीको रुट प्रयोग हुँदै आएको छ ।

आईतवार बिहान २ बजेति सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेवारीसे अवस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाका शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिए । ‘प्रहरी टोली देखेपछि तीन÷चार जना तस्कर नदीमा हाम फालेर फरार भएको र खोजी कार्य जारी छ,’ उनले भने ।

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भई रहेको शसस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए ।

शसस्त्र प्रहरी निरिक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाईएको जनाएको छ । गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभएपनि खोजी राखि रहेको गणपति अधिकारीले बताए ।

स्रोतका अनुसार कोशी नदीको फाइदा उठाउँदै प्रहरीसँगको साँठगाँठमा उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट भारततर्फ गाँजा तस्कर हुने गरेको छ । कोशी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भित्र्याउने र सुनसरी हुँदै सो गाँजा भारततर्फ तस्करी गर्ने गरेका छन् । तस्करीमा संलग्नहरुले सप्तकोशी नदीलाई गाँजा, काठ लगायतको तस्करी रुटको रुपमा प्रयोग गर्दै आएको छ ।

यस्तै विगतका दिनहरुमा बाँस मात्र नभई ट्र्याक्टरमा प्रयोग हुने ट्युब प्रयोग गरी सप्तकोसी नदीबाट प्रहरी कै मिलेमत्तोमा गाँजा पनि तस्करी हुने गरेको स्रोतको दावी रहेको छ । ‘ट्युबको प्रयोग गरेर गाँजा तस्करी गर्नेले सप्तकोसी नदीलाई बाटोका रूपमा प्रयोग गर्ने गरेको छ’, स्रोतले भने, ‘यस विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गर्नु पर्ने हुन्छ ।’ पहाडी जिल्लामा उत्पादन हुने गाँजा सप्तकोसी नदी हुँदै तराईतर्फ ल्याएर भारत तस्करी हुने गरेको छ ।

उदयपुरमा ताप्ली गाउँपालिकाको ओख्ले, इनामे, रुपाटारपछिको लागु औषधा गाँजा उत्पादनको दोस्रो हब बेलका नगरपालिका ७ मैनामैनी आसपासको क्षेत्र मानिदै आएको छ । जिल्लाको बेलका नगरपालिका ७ मैनामैनीमा विगत लामो समयदेखि गाँजा खेती हुने गरेको छ । प्रहरीले वर्षेनी गाँजा नष्ट गर्ने अभियान चलाउँदा पनि हरेक वर्ष गाँजा उत्पादनमा कमी आएको छैन ।

यस्तै गत फागुन ५ गते बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले चार सय केजी अवैध लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ परेको थियो । पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय पिकअप गाडी धनी तथा चालक गोकुल राई, सोही नगरपालिका ७ का २९ वर्षिय मनोज राई र सुनसरी बाराहाक्षेत्र नगरपालिका १ का २३ वर्षिय मनिष धामी रहेको थियो ।

तपाईको प्रतिक्रिया