उदयपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै आइतबार उदयपुरमा नेकपा एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेका छन् ।उदयपुरको सदरमुकाम गाईघाटमा नेकपा एस त्रियुगा नगर कमिटीको कार्यालयबाट भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शन बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा सभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताए ।
उनले एमसीसी अनुदान नभई यो स्वार्थ पुर्ण सहयोग रहेको स्पट पारेको छ । यदि अनुदान हो भने किन संसदबाट पास गर्नु पर्ने कारण उनले कारण सोधे ।
अमेरिकाले देशका सबै नेताहरुलाई एमसीसी पास गर्न धम्की दिरहेको अवस्थामा आफुहरुले यस्तो धम्की नसहने र यसको बिरोधमा निरन्तर रुपमा उत्रिने जनाएको छ ।
रेग्मीले कांग्रसले एमसीसी बारे प्रष्ट अध्यान गरेको छ या छैन तर पनि एकोहोरा एमसीसी पास गर्ने भन्दै लागिरहेको अवस्थामा यस धारणा प्रति आफुहरु सहमत नरहेको उनले जनाए ।
युवा संघ नेपालका जिल्ला अध्यक्ष ओम श्रेष्ठले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताए ।
बिरोध कार्यक्रममा प्रदेश सांसद सुनिता चौधरी, अखिल नेपाल महिला संघ समाजवादी अध्यक्ष पशुपती चौधरी, अन्य युवा नेताहरु बिक्रमी चौधरी, किसन राई लगायत पार्टी कार्यकर्ताहरु सहभागी रहेका थिए ।
यस्तै चौदण्डीगढी नगरपालिका बेल्टारमा पनि एमसिसीको विरोधमा प्रदर्शन भएको थियो । विरोध प्रदर्शनको सन्दर्भमा नेकपा एसका जिल्ला कमिटी सचिवालय सदस्य चुना थापा मगरले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताईन् । उनले एमसिसी पारित गर्ने नेताहरुलाई आगामी चुनावमा रोडमा ल्याउनु पर्ने बताईन् ।
बेल्टारको विरोध प्रदर्शनमा नेकपा एस निकट युवा विद्यार्थी तथा नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया