उदयपुर । उदयपुरका राहत शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षा सेवा आयोगले हालै गरेको विज्ञापनमा उमेर हदका कारण राहत शिक्षकहरु परीक्षामा सामेल हुन नपाउने भएपछि उनीहरु आन्दोलित भएका हुन् ।
नेपाल राहत शिक्षक जिल्ला कार्य समिति उदयपुर र शैक्षिक घटकहरुले एक विज्ञप्तीमार्फत उमेर हद पार गरेकाहरुलाई पनि शिक्षा सेवा आयोगको परीक्षामा सामेल हुन पाउनु पर्ने भन्दै आन्दोलित भएका हुन् ।
नेपला राहत शिक्षक जिल्ला कार्य समितिको उदयपुरका अध्यक्ष गेसराज कार्की, ने.रा.शि.सं. जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष दिल बहादुर फुयाल, ने.शि.संघ जिल्ला कार्यसमिति उदयपुरका उपाध्यक्ष भोग नारायण यादव र ए.अ.ने.शि.सं जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष नारायण प्रसाद अधिकारी लगायतले विज्ञप्तीमार्फत आन्दोलित भएका हुन् ।
विज्ञप्तीमा तत्कालीन समयमा राज्यले शिक्षकको आवश्यकता पूर्ति गर्न शिक्षा ऐनको मातहतमा रहि नियुक्ति गरिएका राहत शिक्षकहरुको उर्जाशील समय अध्यापन कार्यमा वर्षौं बिताए पनि वर्तमान अवस्थामा शिक्षक सेवा आयोगले हालै गरेको तीनै तहको खुल्ला विज्ञापनमा लामो समयदेखि कार्यरत राहत तथा अस्थायी प्रकृतिका शिक्षकहरुलाई उमेरको हद लगाई परीक्षामा सामेलहन बञ्चित गरिएको जनाएको छ ।
विज्ञप्तीमा दरबन्दी मिलानका क्रममा राहत शिक्षकहरुलाई दरवन्दी स्वीकार गरिसकेको तर विज्ञापनमा एक प्रकारको शिक्षकलाई उमेरको हद नलाग्ने र राहत शिक्षकलाई उमेरको हद लाग्ने यो आफैमा विभेदपूर्ण भएकाले शिक्षकहरुलाई मनोबल बढाउनुको साटो मनोबल घटाएर विभेद माथि विभेद थपेका र अस्थायी प्रकृतिका शिक्षकहरु मार्कामा परेका हुँदा उक्त विज्ञापनलाई म्याद थपगरी परीक्षामा सामेल हुने वातावरण सिर्जना गर्न माग गरिएको छ ।
विज्ञप्तीमा जारी हुन लागिरहेको संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुलाई विस्थापित नहुने गरी आन्तरिक प्रक्रियावाट स्थायी व्यवस्थापन गर्ने नीति राखेर मात्र ऐन जारी गरियोस् । यस प्रक्रियावाट शिक्षाका गतीविधिहरु अगाडि बढाएको खण्डमा शिक्षकहरुको मनोवल उच्च भएर जाने र आउने परिणाम गुणस्तरीय हुँदै शैक्षिक क्षेत्रमा सहि परिणाम आउन सक्ने भएको हुँदा तोकिएको मिति र समय भन्दा अगावै कार्यन्वयन गर्नका लागि नेपाल सरकार, शिक्षा सेवा आयोग, शिक्षक महासंघ लगायत सरोकारवाला पक्षहरुलाई अपिल गरेको छ ।