गाईघाट । नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनको दोस्रो दिन समेत नेतृत्व छनौटको प्रक्रिया समेत सुरु हुन सकेन । एमालेको नेतृत्वमा धेरै आकाक्षी भएपछि एमाले उदयपुरले सहमति प्रयास स्वरुप निर्वाचन प्रक्रिया अघि नबढाएको हो ।
शनिबार बेलुकासम्म अध्यक्ष र सचिव पदका लागि ३/३ जनाले उम्मेदवारी घोषणा गरेका छन ।
एमाले उदयपुरको अध्यक्षमा पूर्व सचिव प्रमेश्वर घिमिरे, कालु लामा र खड्ग बहादुर परियारको उम्मेद्वारी कायम छ भने सचिवमा टेकबहादुर राउत, शम्भु पौडेल र कुशलबाबु बस्नेतले आफ्नो दावी पेश गरेका छन ।
उता उपाध्यक्ष पदमा भने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ काजी र रौतामाई मुकुर्चीका तेजपत्ता व्यापारी भरत थापाले सामाजिक संजालमा उम्मेद्वारी घोषणा गरेका छन । त्यसैगरी उपसचिव पदमा एमालेका दुई महिलाले आकक्षा राखेका छन । सामाजिक संघ संस्थाको नेतृत्व गरेकी महेश्वरी राई र सृजना दनुवारले उपसचिव पद आफुले पाउनु पर्ने भनेर प्रचार प्रसार व्यापक बनाएकाछन ।
नेकपा एमाले उदयपुरमा चुनाव हुन नदिइ सर्वसहमत नेतृत्व चयन गर्न प्रतिनिधिहरुले अध्यक्ष मण्डललाई जिम्मेवारी दिएको छ । पार्टी फुटेको अवस्थामा निर्वाचनबाट नेतृत्व छनौट गर्दा विभाजनको भावनालाई मलजल हुने हुदाँ सहमतिमा नेतृत्व छनौट गर्ने प्रयास गरिएको छ । बन्द शत्रको पहिलो दिन अधिवेशन प्रतिनिधिहरुले सर्वसहमत नेतृत्व चयन गर्नका लागि अध्यक्ष मण्डल जिम्मेवारी दिने प्रस्ताव पास गरेको बुझिएको छ । हलको निर्देशन अनुसार अध्यक्ष मण्डलले सहमतिको प्रयास गर्न आइतवार ११ बजे सम्म बन्द सत्र स्थगन गरेको छ ।
अध्यक्षमा घिमिरेको संम्भावना बलियो
एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी मध्ये पूर्व सचिव प्रमेश्वर घिमिरे एकाएक बलियो उम्मेद्वार भएका छन ।
यसअघि अध्यक्षका उम्मेद्वार भनेर मिडियामा प्रचार प्रसार गर्न भ्याएका कुशल बाबु बस्नेतले एकाएक मैदान खाली गरेपछि घिमिरे बलियो बनेका हुन । एमालेको निर्वाचित सचिव र नेकपा विवादित हुदाँको अवस्थाको जिल्ला अध्यक्षको जिम्मेवारी बहनगरी सकेका घिमिरेलाई नै अध्यक्ष बनाउन अधिकांश प्रतिनिधीले दवाव दिएपछि घिमिरेको पक्षमा एकाएक माहौल तयार भयो । भने अध्यक्षदावी गरेका बस्नेत अनपेक्षित रुपमा ब्याक हुन बाध्य भए ।
राजनीतिक कुरा भन्दा पनि नाफा नोक्सानको हिसाव गर्न माहिर बस्नेतले मिडिया ट्रायलमा कार्यकर्ताहरुले रातो बत्ती देखाएपछि एकाएक पछि हटेको नाम नबताउने सर्तमा एक नेताले बताए ।
शुक्रबार साँझसम्म अध्यक्षमा दावी गरेका बस्नेत घिमिरेका लागि अध्यक्षबाट दुई तह तल झरेर सचिव बस्न राजी भएको स्रोतले बतायो ।
एमाले स्रोतका अनुसार अध्यक्षमा दावी गर्ने कालु लामा र बस्नेत एउटै भुगोलको भएकाले सहमतिमा दावी छाड्दा कालुको लागि दावी छाड्नु पर्ने हुनसक्ने भएकाले पहिले नै अध्यक्षको उम्मेद्वारी हापेका हुन ।
अध्यक्ष छाडेर सचिवमा बस्नेतले दावी गरेपनि घिमिरे अध्यक्ष बनेको अवस्थामा दलित, जनजाती मध्ये एकलाई सचिव बनाउनु पर्ने अवस्थामा पार्टी सचिव बन्ने बस्नेतको सपना सम्झने पानी छम्कने भन्ने जस्तै हुने छ । नेपाल पत्रकार महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, विभिन्न गैरसरकारी संस्थाहरुमा समेत अनुभव लिईसकेका बस्नेतले सचिव पदसमेत त्याग गरे भने आश्चर्य नमाने हुनेछ ।
भुगोल मिलाउनको लागि त्रियुगाबाट अध्यक्ष, कटारीबाट उपाध्यक्ष, चौदण्डीगढीबाट सचिव र बेलकाबाट उपसचिव बनाउने गरी नगरअध्यक्षहरुले समेत छलफल अगाडी बढाएका छन । तिन पालिकाबाट अध्यक्ष, उपाध्यक्ष, सचिव भएपनि बेलकाबाट उप सचिव बन्ने पात्र कोही दावी गर्न नआएकाले महेश्वरी र सृजना मध्ये एक जनाको  भागमा पर्न सक्ने सम्भावना उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया