उदयपुर / नेकपा एमालेले देशव्यापी रुपमा एकै पटक जिल्ला अधिवेशनको उद्घाटन पुस २३ गते गर्दैछ । एमालेमा देशव्यापी जिल्ला अधिवेशनको सरगम्री बढेसँगै उदयपुर पनि अछुतो रहन सकेन् । अहिले चौक चौक हाट बजार चिया पसल जताततै एमालेको जिल्ला अधिवेशनको चर्चाले राजनीतिक सरगम्री बढेको छ । जिल्ला अधिवेशनकै सन्दर्भमा उदयपुरमा गुट उपगुट सृजना भएपछि वर्तमान उपसचिव तथा कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी) को भने फरक धारणा रहेको छ । गुट उपगुटमा नलागी जिल्ला अधिवेशन एक ढिक्का भएर सफल पार्नु पर्ने उपसचिव श्रेष्ठको भनाई रहेको छ । गुट उपगुटले पार्टीमा बैमनश्यता बढ्ने, स्थानीय चुनावमा असर गर्ने भएकोले एक ढिक्का भएर सर्वसम्मत नेतृत्वको पक्षमा आफु रहेको श्रेष्ठले बताए ।

“एमाले उदयपुरमा कुशलबावु बस्नेत, परमेश्वर घिमिरे र कालु लामाको फरक फरक गुट देखा परेको छ ।” श्रेष्ठले भने, “अहिले कस्को गुट बलियो भन्ने प्रतिष्पर्धामा सामाजिक संजाल रंग्याउने काम भईरहेकोले त्यस्तो नगर्न आग्रह गर्दछु ।”

अहिलेको राजनीतिक लडाई गठबन्धन विरुद्ध भएकोले सवैले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने, यसको लागि वडा वडाबाट आएका प्रतिनिधिहरुले पनि पहल गर्नु पर्ने उपसचिव श्रेष्ठले बताए ।

अहिलेको अवस्था एमाले पार्टीलाई जिवन्त दिन जिल्ला अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नु पर्ने श्रेष्ठको धारणा रहेको छ । “आफु अहिले कुनै पदको लालची नभएको तर पार्टीलाई मजबुत बनाई एक ढिक्का बनाउन आफु जुनसुकै पदमा रहन तयार छु ।” श्रेष्ठले भने, “तीन दशकदेखि एमालेको पार्टी संगठनका हरेक गतिविधिमा आफुलाई अग्रणी भुमिका राखेर काम गर्दै आएको छु र अव पनि पार्टीलाई एक ढिक्का बनाई जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आफ्नो पहल रहनेछ ।”

तपाईको प्रतिक्रिया