उदयपुर । प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उदयपुरको भाग्य र भबिष्य सँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । उदयपुरको ताप्ली गाउँपालिका स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन ।

मन्त्री कार्कीले म पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्रका समस्याहरुको बारेमा राम्रो सँग बुझेकाले कोशी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्न तयार रहेको बताए । कोशी कोरिडोर यस क्षेत्रको समृद्धिको मुल आधार हुने भएकाले यसलाई अगाडी बढाउन काठमाण्डौ डेलिकेसन जान आफू तयार रहेको समेत प्रष्ट पारे ।

मन्त्रालयका सचिव लगाएत ईन्जिनियरहरुको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भने ‘उदयपुर जिल्लाको भुगोल सुगम नरहेकाले यस विकटतालाई हेरेर बजेट विनियोजन गरिदिन म मन्त्रालयका सचिव लगाएत अन्य प्राविधिक कर्मचारीहरुलाई अनुरोध गर्दछु ।’

मन्त्रीको जिल्ला भनेर बजेट नहाल्न सचेत गराउदै कार्कीले भने ‘म मन्त्रीको जिल्ला भनेर उदयपुरमा बजेट हाल्न दवाव दिन्न तर यस क्षेत्रको विकटतालाई हेरेर बजेट विनियोजन गर्न सचिवलाई ध्यानाकर्षण गराउन चाहान्छु ।’

उदयपुरको ताप्ली गाउँपालिका ५ स्थित यारी खोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ । बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडक अन्तरगर्त पर्ने उक्त पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरुलाई प्रत्यक्ष फईदा पुग्ने छ ।

२०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले शिलान्यास गरेको उक्त पुल कोभिडको महामारीको विचमा समेत निर्माण सम्पन्न गरेकाले निर्माण कम्पनी ए एन एस केएम जेबी एन एस जेभी काठमाण्डौले १८ महिना लगाएर निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिव मोहन चापागाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया