उदयपुर । गाईघाट दिक्तेल सडक अन्तर्गत सुनकोसी नदीमा अस्थायी बेलीब्रीज जडान सम्पन्न भएको छ । हिउद महिनामा उदयपुर खोटाङ सिधा यातायात संचालन गर्न सडक विभागले बेलीब्रीज जडान गरेको हो ।
सुनकोशी नदिमा जडान गरिएको यो आठौं बेलीब्रीज हो । आठ बर्ष देखि बर्षेनी उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ५ फोक्सिङटार र खोटेहाङ गाउँपालिका वडा नं. ९ स्थित सुनकोशी नदीमा गाईघाट दिक्तिेल सडक योजना कार्यालयले बेलीब्रीज लगाउदै आएको छ ।

खोटाङको सदरमुकाम दिक्तेल जोड्ने उदेश्यले दुई दशक अघिबाट निर्माण शुरु गरेको गाईघाट दिक्तेल सडकमा पर्ने सुनकोसीमा सडक कार्यालयले बर्षेनी बेलिब्रिजको राख्ने गर्दछ ।

पक्की पुल बनाउन ढिलाई भएकाले सुनकोसी नदीमा पानीको वहाव घटेसँगै जडान गर्ने र वर्षा लागेपछि झिक्ने गरी बेलिब्रिज जडान गर्ने गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।

बेलीब्रीज जडान गरिएपछि गाईघाट दिक्तेल सडक सञ्जालमा सोझै सार्वजनिक सवारी सञ्चालन हुने भएकाले त्यस क्षेत्रका सर्वसाधरण प्रत्यक्ष लाभाम्वित हुने छन ।

सुनकोसी नदि वारपार गर्न असहज भईरहेको अवस्थामा अस्थायी रुपमै भएपनि एकतर्फि रुपमा करिव २५ टन भार वहन गर्न सक्ने क्षमताको वारी पारी दुवैतर्फ एप्रोच रोड सहितको बेलिब्रिज जडान गरिएको योजना कार्यालय प्रमुख गोपाल प्रसाद खकुरेलले बताए ।

प्रमुख खकुरेलका अनुसार नदीमा पानीको वहाव नघटेकाले यस बर्ष ढिलो गरी बेलीब्रीज जडान गरिएको जानकारी दिए ।

मंसिर २९ गते काम सम्पन्न भएको छ भने पुस १ गते बिहीबारबाट सार्वजनिक यातायात आवतजावत खुल्ला गर्ने गरी तयारी गरिएको छ । रेग्मी निर्माण सेवा त्रियुगा नपा ११ गाईघाटले करिब ७८ लाखको लागतमा बेलीब्रीज जडान गर्ने जिम्मा लिएको रेग्मी निर्माण सेवाका प्रोपाईटर महेश रेग्मीले जानकारी दिए ।

सार्वजनिक सवारी आवागमन खुल्ला गरिएपछि अवको करिव छ महिनासम्मका लागि उदयपुर र खोटाङ्ग जिल्ला अस्थायी रुपमा भएपनि सडक सञ्जालमा जोडिएको छ ।

पक्की पुल निर्माणका लागि ठेक्का लागी सकेको फोक्सिङ्टारमा अहिलेसम्म पुल निर्माणको काम हुन सकेको छैन । निर्माण कम्पनीले पक्की पुल निर्माणमा चासो नदेखाएकाले समयमै पुल निर्माण हुन नसकेको स्थानीयको आरोप छ ।

उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको एकसय ३१ किलामिटर लामो गाईघाट दिक्तेल सडकको उदयपुर खण्डको ५३ किलोटिरको दुरीमा बेलिब्रिज निर्माण गरीएको र यसवाट सर्वसाधारणलाई गाईघाटदेखि दिक्तेलसम्मको आवत जावतमा सवारी साधनको प्रयोग गर्न सहज भएको छ ।

तपाईको प्रतिक्रिया