उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको विवाद चरम उत्कर्षमा पुगेको छ । विधान विपरित २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहको बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्य समेत निलम्बन गरेपछि विवाद चुलिदै गएको हो ।

०७८ वैशाख १५ सम्म संस्था दर्ता र नविकरण गर्नेको संख्या २ हजार ६ सय २६ जना व्यवसायी उद्योगी रहेको थियो । तर, रसाइली पक्षले आइतबार सार्वजनिक गरेको साधारण सदस्यको नामावलीमा १ हजार २ सय ३७ जनाको मात्रै रहेपछि नाम हटेका १ हजार ३ सय ८९ व्यवसायीहरु असन्तुष्ट भएका छन् । रसाइली पक्षले पौष ३ गते साधारण सभा र अधिवेशन गर्ने निर्णय गरेको छ ।

२०७७ साल फागुन २७ गते कार्य समितिको बैठकबाट अधिवेशन आयोजक कमिटी गठन गरि ०७८ वैशाख १५ सम्म संस्था दर्ता र नविकरण, ०७८ ज्येष्ठ ८ गते सधारण सभा र ०७८ ज्येष्ठ १५ गते अधिवेशन गर्ने निर्णय भएकोमा ०७८ बैशाखबाटै पुनः बन्दावन्दी शुरु भएको हुँदा ०७८ जेष्ठ ४ गते १२ जना कार्य समिति सदस्य मध्ये ११ जनाको उपस्थितमा बैठकले सधारणसभा र अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । साधारण सभा र अधिवेशन गर्ने निर्णय गरेपनि त्यस बखत २ हजार ६ सय २६ जना साधारण सदस्यहरुको दर्ता तथा नविकरण भएको थियो ।
साधारण सदस्यबाट नाम हटाइएका असन्तुष्ट व्यवसायीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा गएर रसाइली पक्षले आयोजना गर्न लागेको साधारण सभा र अधिवेशन रोक्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।

निवेदनमा हाल आएर कथित रमेश रसाईली समूहले त्रियगा उद्योग वाणिज्य संघको विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई समेत विपक्षी बनाई उच्च अदालत विराटनगरमा मुद्धा गरेकोमा सो मुद्धाको सुनुवाई २०७८ पौष ५ गते हुने भनिएकोमा सो सम्मानित उच्च अदालतको फैसला हुनु अगावै गर्न लागेको साधारण सभा र अधिवेशन रोक्न माग गरेका छन् । गत बैशाख १५ गतेसम्म २ हजार ६ सय २६ जना संस्थाको सदस्य रहेको संस्थामा आफु अनुकुलको साधारण सदस्यहरुको संख्यामा केही संख्या थप गरी १ हजार २ सय ३७ जनाको मात्र नामावली संघको सुचना पार्टीमा टाँस गरेको र बाँकी करिव १ हजार ३ सय ८९ जना सदस्यहरुको नामनै कटाई दिएको भन्दै साधारण सभा र अधिवेशन रोक्न माग गरेको छ । निवेदकहरुले ‘हामी सदस्यहरुको नैसर्गिक अधिकार समेत हनन् भएको हुँदा हाम्रो फर्म दर्ता नविकरण भएको प्रतिलिपी सहित यो निवेदन पेश गरेका छौं । मुद्धाको फैसला नहुन्जेल सम्मको लागि पौष ३ मा हुने भनिएको कथित साधारण सभा तथा अधिवेषण रोक्का गरी दिन ुहुन सादर अनुरोध गर्दछौं ।’

चुडामणी कार्की, कुमार प्रसाद घिमिरे, विजेन्द्र कुमार लाल, सुनिल साह, हरिलाल चौधरी कलवार, ईश्वर मान राई, अजय कुमार साह, अर्चना कुमारी साह लगायतले जिल्ला प्रशासन कार्यालयमा साधारण सभा र अधिवेशन रोक्न निवेदन दिएका छन् । साधारण सभा र अधिवेशन रोक्न माग गरेको निवेदनको बोधार्थ नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौं र नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं.–१, विराटनगरलाई समेत दिइएको छ । असन्तुष्ट व्यवसायीहरुले अदालतको फैसला नआएसम्म कुनै पनि कामकाज तथा साधारण सभा र अधिवेशन नगर्न माग गरेको छ । असन्तुष्टले हाम्रो मागको बेवास्ता गरे जस्तो सुकै कदम पनि चाल्न सक्ने बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले संस्था हिजो पनि गलत तबरले चलेको थियो र आज पनि साधारण सभा र अधिवेशन गलत तरिकाले गर्न खोजेको छ । साधारण सभा र अधिवेशन भई हाले पनि संघको आफ्नै विधान र संस्था दर्ता ऐन २०३४ बमोजिम त्यसले मान्यता नपाउने बताए । ‘संघमा आर्थिक कारोबार हिनामिना हुन खोजेपछि रोकेर स्पष्टिकरण माग्ने हो, दुवै पक्षलाई चित्त नबुझे तीन दिनभित्र लिखित जवाफ मागेको थियौ ।’ प्रजिअ यादवले भने, ‘उनीहरु आफै अदालत गएपछि अदालतको फैसला कुर्नु पर्थ्यो, फैसला नकुर्नु उनीहरुकै लागि घातक हुन सक्छ ।’

अडिटरले अडिट नगरि फिर्ता गरे फाइलहरु

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले अटिरको रुपमा न्यूक्ति गरेको आइएम राउत एशोसियटस्का अडिटर इश्वरमणि राउतले आर्थिक वर्ष २०७७÷०७८ को अडिट नगरेर खातापाता फिर्ता गरेको छ ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अडिट आफुले नगर्ने भन्दै खातापात फिर्ता गरेका हुन् । अडिटर राउतले घुमाउरो पाराले त्रियुगा उद्योग वाणिज्य संघ भित्रको गन्जागोल आफुले बुझन नसकेर खातापाता फिर्ता गरेको जनाएको छ । उनले भने, ‘म त्रियुगा उद्योग वाणिज्य संघको अडिट नगर्ने पक्षमा पुगेर खातापाता फिर्ता गरेको हुँ । उनीहरुको गन्जागोलमा म पर्दिन ।’ गत वर्ष अडिटरले दिएको प्रारम्भिक प्रतिवदेनका आधारमा अध्यक्ष गजेन्द्र कुमार भगतमाथि उपाध्यक्ष समूहले कारबाही गरेका थिए । कारबाही प्रक्रिया अदालतसम्म पुगेका थिए ।

स्रोतका अनुसार अहिले अडिटरको खोजी भईरहेको छ । अडिटर न्युक्तिको लागि कार्य समितिले निर्णय गर्नु पर्ने भएकोले अध्यक्ष गजेन्द्र कुमार भगत वा सचिव दिनेश कुमार श्रेष्ठ विना पदाधिकारीमा बहुमत नपुग्ने देखिन्छ ।

त्रियुगा उद्योग वाणिज्य संघको विधान २०५९ को दफा ४.४(ख) बमोजिम कार्यकारिणी समितिको बैठकको अध्यक्षता अध्यक्षले नै गर्ने छन । दफा ४.४(ग) बोजिम कार्यकारिणी समितिको बैठकको गणपुरक संख्या ५१% प्रतिशत हुनेछ तर पहिलो बैठक गणपुरक संख्या नपुगी स्थगित भएमा दोश्रो बैठकमा उपस्थित एक तिहाई संख्यालाई नै गणपुरक संख्या मानिनेछ । तर यस्तो परिस्थितिमा कार्यकारिणी समितिका पदाधिकारीहरु कम्तिमा तिन जना र सदस्यबाट दुई जना अनिवार्य हुनु पर्ने व्यवस्था गरेको छ । विद्यानत पदाधिकारीका प्रथम उपाध्यक्ष रसाइली र द्धितिय उपाध्यक्ष हस्तमाया राईले मात्रै बैठक बसेर निर्णय गर्ने अवस्था विधानले बन्देज गरेको छ । बैठक बसेर निर्णय गर्न थप एक जना पदाधिकारी चाहिन्छ ।

साधारण सभा र अधिवेशन हुनु अगावै अन्तिम आर्थिक वर्षसम्मको खर्च भए नभएपनि हरहिसाव अनिवार्य पेश गर्नु पर्ने हुन्छ । त्यसको लागि पहिले अडिट रिर्पोट चाहिन्छ ।

स्रोतका अनुसार उपाध्यक्ष रसाइली समूहले पौष ३ गतेको लागि तोकेको साधारण सभा र अधिवेशनमा अडिट रिर्पोट पेश गर्न नसक्ने अवस्थामा पुगेको छ । अडिटर राउतले खातापात फिर्ता गरेपछि यति चाँडै अर्को अडिटरले आर्थिक वर्ष २०७७÷०७८ को अडिट गर्न नसक्ने अवस्थामा छैन् ।

अडिटरले अडिट गरेपछि कार्य समितिले पास गरेपछि मात्रै साधारण सभामा लैजाने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया