उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले अव उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भएपनि पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।

यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट कात्तिक २९ गते सोमबार लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार अव स्कुटीदेखि जीप, कार, भेनजस्ता हलुका सवारी साधनको लाइसेन्स बितरण गर्ने अधिकार कार्यालयले पाएको बताए ।

अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भईसकेको पनि कार्कीले जानकारी दिए । अव भटाभट लाईसेन्स बितरणको कार्य सुरु हुने उनले बताए । लाईसेन्स बितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको कार्कीले बताए ।

कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ९ गहिरुनमा १ बिगाह क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो सवारी ट्रायल सेन्टर संचालनमा आएको कार्यालय प्रमुख कार्कीले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले बितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ ।

उदयपुर यातायात सेवा कार्यालयलाई लाईसेन्स बितरणको अधिकार नहुँदा यसअघि जिल्लाका हजारौँ सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, जनकपुर, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता गियो ।

तपाईको प्रतिक्रिया