गाईघाट । गठबन्धनमा रहेका राजनीतिक दलहरु विचको साँझा सहमतिका एजेण्डाहरुका आधारमा सरकार पुरै अवधिसम्म टिक्ने परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल प्रेस युनियन उदयपुरद्धारा सोमवार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।
पत्रकारहरुले यो सरकारको आयू कहिलेसम्म हो ? भन्ने प्रश्नको जवाफ दिदै मन्त्री डा.खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास गरेकोमा आपूmहरुले यो संसद पुरै अवधि चल्नुपर्छ भनि अदालत र राष्ट्रपति समक्ष गएर सशरिर सनाखत गरेको स्मरण गर्दै अहिलेको गठबन्धन सरकार संसदको बाँकि अवधि पुरै टिक्ने बताए ।

मन्त्री खड्काले गठबन्धनमा रहेका राजनितिक दलहरुका बिचमा साँझा सहमतिका एजेण्डाहरुका आधारमा सरकार सञ्चालन भइरहेको बताउदैै नेपालको वर्तमान संविधानले मध्यावधि वा अर्लि इलेक्सनको परिकल्पना नगरेको हुँदा संसदको बाँकी अवधिसम्म अहिले कै सरकार रहनेमा कुनै आशङ्का नरहेकोे बताए ।

नेपाली काँग्रेसका केन्दीय सदस्यसमेत रहनु भएका परराष्ट्रमन्त्री डा.खड्काले जवजव मुलुकमा सङ्कट आइपर्छ तव सरकारको नेतृत्व काँग्रेसको काँधमा जाने गरेको इतिहास साक्षि छ भन्दै झण्डै दुई तिहाइको नजिक रहेको यस अघिको एमाले नेतृत्वको सरकारले जनताले दिएको जिम्मेवारी वहन गर्न नसके पछि मुलुकलाई राजनैतिक निकास दिनका लागि यो अहिलेको सरकार गठन भएको बताए ।

मन्त्री खड्काले केहि सञ्चार माध्यमले आपूmले भनेको भन्दा फरक ढङ्गले समाचारहरु प्रसारण गरी अनर्गल प्रचार गरेकोमा दुख ब्यक्त गर्दै लिपुलेक, कालापानी वा नेपालको सवै भूभागमा राष्ट्रिय जनगणना लगायतका कार्यक्रहरु नेपालको वर्तमान नियम कानुन अनुसार सञ्चालन हुने बताए । मन्त्री खड्काले नेपालको हितविपरित र दलीय सहमति विना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नहुने समेत स्पष्ट पारे ।

अहिलेकोे गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई दु्रत गतिमा अगाडि बढाउनु रहेको बताए । मन्त्री खड्काले भने, “सरकारको अहिलेको प्राथमिकता भनेको सवै नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप लगाएर उनीहरुको जीवन सुरक्षा गर्ने, कोरोना महामारीले थिलथिलो बनेको मुलुकको आर्थिक अवस्थालाई सुदृढिकरण गर्न सङ्कटमा परेका उद्योग कलकारखानालाई राहत कार्यक्रम ल्याउने र हाल सञ्चालनमा रहेका ठुला योजनाहरुलाई समयमा नै सम्पन्न गर्ने नीति रहेको छ ”

उदयपुर क्षेत्रनम्बर १ का सांसद समेत रहेका मन्त्री डा.खड्काले उदयपुरको विकासका लागि आपूmले यस अघिपनि धेरै कामहरु गरेको बताए । मन्त्रीले ठुलो धनजनको क्षति पुर्याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन बर्षमा सम्पन्न गर्ने गरी आठ अर्व रुपैयाँ वजेट विनियोजन गरिएको र त्यस मध्ये यो बर्ष दुई अर्व अर्थ मन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको बताए ।

त्यसै गरी मन्त्री डा. खड्काले तीन बर्ष लगाएर निर्माणाधीन सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सम्पन गराएको र अव चाँडै उक्त जग्गा नागरिक उड्यन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको समेत बताए ।

तपाईको प्रतिक्रिया