कटारी । मालपोत कार्यालय कटारीमा बिहीबारबाट भू–सेवा केन्द्रको सेवा सुरु भएको छ । मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयन गर्न भू सेवा केन्द्र संचालनमा ल्याईएको हो ।

भू सेवाको उद्घाटन इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले एक समारोह विच गरेका छन । उनले भू सेवा केन्द्रको उद्घाटन गर्दै अबका दिनमा मालपोत कार्यालय कटारीले सेवाग्राहीलाई सहज रुपमा निश्चित सेवा शुल्कमा सेवा दिने, लेखनदासको मनपरी नियन्त्रण हुने, मालपोत कार्यालयमा हुने भिडभाड तथा दलाली नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

सरकारले जग्गा प्रशासन सम्बन्धी सेवालाई समय सपेक्ष परिवर्तन गरी सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भूमि सुधार÷मालपोत कार्यालयहरुमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एआरआइएमएस), अभिलेख व्यवस्थापन प्रणाली (डीएमएस) तथा पब्लिक एक्सेस मोडल (पाम) प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको छ ।

‘पाम’ सेवाग्राहीले इन्टरनेटको माध्यमबाट जग्गा प्रशासन सम्बन्धी काम गर्न सकिने गरी विकास गरिएको प्रणाली भएको मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले बताए । मालपोत नियमावली, २०३६ (छैठौं संशोधन) को नियम २३क(२) को व्यवस्था अनुसार पाम प्रणाली विकास गरी भू–सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन गरिएको छ ।

उनले भने, ‘जग्गाधनी आफैले वान टाइम पासवर्ड (ओटीपी) को प्रयोग गरी अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवेदन भर्न सक्नेछन् । लेखापढी व्यवसायमार्फत कारोबार गर्दा झन्झट महशुस गरिरहेका सेवाग्राहीले अब आफै फारम भर्न सक्ने भएको छ ।’

मालपोत कार्यालय कटारीका कम्युटर अपरेटर सुमन कटुवालले बैंकहरुले भू–सेवा केन्द्रको अनुमति लिने वित्तिकै बैंकहरुले आफ्नै कार्यालयबाट ऋणीको जग्गा रोक्का तथा फुकुवा गर्न सक्ने बताए ।

अहिले जग्गा रोक्का तथा फुकुवा गर्नका लागि सेवाग्रही र बैंकका प्रतिनिधि लेखापढी व्यवसायीकोमा गएर निवेदन तयार पारी दिनभरी मालपोत कार्यालयमा लाइन बस्नु पर्ने बाध्यता टरेको छ ।

‘जसकाले कम्युटर, इन्टरनेट जानेको छ, उसले समान्य रुपमा आफैँले काम सकेर कार्यालय आउँदा हुन्छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरु, स्थानीय तह, लेखापढी व्यवसायी, जग्गाधनी व्यक्ति, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएपछि मालपोत कार्यालयहरुमा हुने भिडभाड आधा घट्ने छ ।’

जग्गाधनी आफैले ओटीपीको प्रयोग गरी अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवेदन तथा फारम भर्न सक्ने उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया