उदयपुर । उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीलाई पुनर्जीवन दिन पहल सुरु भएको छ । पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेका थिए ।राज्य कब्जा गरेपछि पृथ्वीनारायणले त्यहाँ युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै उदयपुरगढीलाई पुनर्जीवन दिन लागिएको हो । देशभरका १ सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक हो । उदयपुरगढी गाउँपालिकाले पर्यटक भित्र्याउने उद्देश्यले पुरानो गढीको पुनर्निर्माण थालेको हो ।

पालिकाले संघीय सरकारसँगको साझेदारीमा पुरानो गढी पुनर्निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए । गाउँपालिका– ५ स्थित पुरानो गढी क्षेत्रको झन्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिने काम भइरहेको छ । त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषलाई पुनर्निर्माण भइरहेको छ ।
गाउँपालिका केन्द्र परिसरदेखि १ किलोमिटर उत्तर–पश्चिममा पर्ने सो क्षेत्रमा गत वर्ष प्राप्त संघीय बजेटबाट गाउँपालिकाको साझेदारीमा पुनर्निर्माण सुरु गरिएको अधिकृत सुवेदीले बताए । चालु आर्थिक वर्षको लागि पूरानो गढी पूननिर्माणको लागि पर्यटन मन्त्रालयसँगको लागत सहभागीतामा ८२ लाख रकम विनियोजन गरिएको अधिकृत सुवेदीले जानकारी दिए ।

स्थानीय बोधकुमार घिमिरेको अध्यक्षतामा गठित स्थानीय पर्यटन प्रवर्द्धन समितिमार्फत सञ्चालित योजनामा संघीय सरकार, पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट विनियोजित २३ लाख ५० हजार गरी ७३ लाख ५० हजार रुपैयाँमा पहिलो चरणको काम सम्पन्न गरिएको छ भने बाँकी कामको लागि रकम विनियोजन गरिएको अधिकृत सुवेदीले जानकारी दिए ।

बजेटबाट तत्कालीन गढीको जग, बंकर र गढी क्षेत्रमा कम्पाउन्ड घेराबार निर्माण भएको गढी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार ऐतिहासिक तथ्य र प्रमाण आधारको अध्ययन गरी पहिलेकै स्वरुपजस्तो बनाउने प्रयास समितिले गर्नेछ । ‘गढीको इतिहास स्मरण गर्ने संरचना पुनर्निर्माण गर्न सके इतिहासलाई पुनर्जीवन दिन सकिने हुँदा पुरानै स्वरुपमा पुनर्निर्माण गर्ने योजना बनाइएको हो’, घिमिरेले भने ।गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन ऐतिहासिक गढीको पुनर्संरचना भइरहेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । गाउँपालिका गठनपछि ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र स्थानीय अगुवाको पहलमा पुराना भग्नावशेष पहिल्याउँदै गढीको ऐतिहासिक संरचनाको पुनरुत्थान गर्न लागिएको पालिका अध्यक्ष मगरले बताए ।
पुनर्निर्माणको क्रममा ५ सय मिटर व्यासको बाहिरी कम्पाउन्ड घेराबार निर्माण भइसकेको छ भने त्यसको सुरक्षा र आकर्षणका लागि १ सय ३० मिटर लम्बाइको ६ फिट अग्लो बाहिरी गारो लगाई सकिएको पालिका अध्यक्ष मगरले बताए । कम्पाउन्डभित्र गढी, कोतखाना, इनार र बगैंचा बनाइने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख छ ।

पृथ्वीनारायण शाहले राज्य एकीकरण कालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ ।

राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढीलाई सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यमाथि विजय प्राप्त गरेको इतिहास रहेको घिमिरेले सुनाए । उनका अनुसार तत्कालीन भुरे–टाकुरे राजा उदयचन्द्र सेनले राज्य गरेको दरबार क्षेत्र नै हालको उदयपुरगढी हो ।

उदयपुरगढी ऐतिहासिक, पुरातात्विक र उबेला सामरिक महत्वको भएकाले त्यसको पुनर्संरचनामा जुटिएको पालिका अध्यक्ष केप्छाकी मगर बताउँछन् । जिल्लाको मध्य भाग, वरिपरि बेंसी अनि फाँट र बीचमा दम्स्याइलो डाँडो रहेको उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय मिटर उचाइमा अवस्थित छ ।

‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शितल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ’, अध्यक्ष मगरले भने । २०२८ मा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, १ वर्षअघिका पुराना वरपीपलका चौतारी, विभिन्न संरचना अद्यपि छन् ।

सदरमुकाम सरेपछि उक्त स्थानका बासिन्दाको बसाइँ सर्ने क्रमसँगै बिरानो बन्दै गएको गढी क्षेत्रलाई हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ ।

तपाईको प्रतिक्रिया