उदयपुर । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको लाईन काट्ने भएको छ । प्राधिकरणले पोल भाडाको पुरानो वक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केबल सेवा प्रदायकको तार आजबाट काट्न सुरु गर्ने भएको हो ।
उदयपुर वितरण केन्द्रले विभिन्न मितिमा सार्वजनिक सूचना निकालेर असोज १५ गतेसम्म केबुल र ईन्टरनेटवालाहरुलाई पोल भाडा तिर्न निर्देशन दिएको थियो । प्राधिकरणको पटक पटकको निर्देशनको अवज्ञा गर्ने तथा पोल भाडा नबुझाउने केबल टिभि र इन्टरनेटको तार शनिबारबाट काट्ने उदयपुर वितरण केन्द्रका प्रमुख पंकज कुमार गोईतले बताए ।

‘हामीले उदयपुरमा विद्युत प्राधिकरणको संरचना प्रयोग गरिरहेका केवल टेलिभिजन र इन्टरनेटलाई पुरानो वक्यौता बुझाउन पत्राचार गरेका छौ’ शाखा प्रमुख गोईतले भने, ‘प्राधिकरणको केन्द्रीय नीति अनुसार भाडा बुझाउन पत्राचार गर्दा केबल र इन्टरनेटवालाहरुले अहिले सम्म टेरेनन, अब हाम्रो विकल्प भनेको विद्युत प्राधिकरणको पोल प्रयोग गर्न नदिने भन्ने नै हो ।’

विद्युत प्राधिकरण गाईघाटका अनुसार केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुमा कोहीले ५ बर्ष देखि र कोहीले दुई बर्ष देखि भाडा दिन नदिएको अभिलेख छ ।
सिद्धि बिनायक नेटवर्क प्रालीले र मुकुर्ची केवल नेटवर्क प्रालीले २०७५÷७६ सम्मको सम्झौता गरि भाडा बुझाएको छ । भने वल्र्डलिङ्क कम्युनिकेशनले २०७४÷७५ सम्म सम्झौता गरेका विद्युत प्राधिकरणको रेकर्डमा उल्लेख छ । साथै डोनेक्स केबुल नेटवक देउरी र जनहितकोष बहुमुखी सहकारी संस्था लिमिटेड ले २०७३÷७४ सम्म मात्र सम्झौता गरेको देखिन्छ ।

विद्युत प्राधिकरणको रेकर्ड अनुसार बढि पोल प्रयोग गरेपनि कम पोल संख्या देखाएर विद्युत प्राधिकरणलाई कर छली गर्ने गरेको देखिएको छ । उदयपुरमा सबै भन्दा ठूलो नेटवर्क रहेको सिद्धिबिनायक नेटवर्कले २३० वटा पोल मात्र प्रयोग गरेको भनेर कर तिर्ने गरेको छ भने वल्र्डलिङ्कले २५ थान पोलको मात्र भाडा तिर्ने गरेको विद्युत प्राधिकरणको रेकर्डमा उल्लेख छ । मुकुर्ची केबलले ९९ वटा, देउरीको डोनेक्सले १३६ वटा र जनहित सहकारी कटारीले २०५ वटाको मात्र भाडा तिर्न सम्झौता भएको देखिन्छ । केबल र ईन्टरनेटवालाहरुले केही बर्ष देखि नै भाडा तिर्न छाडेकाले भाडा उठाउनको लागि प्राधिकरण कठोर हुनु परेको जनाएको छ ।

जिल्लामा सबै भन्दा ठूलो इन्टरनेटको नेटवर्क रहेको टेकमाईन्ड नेटवर्कले एक पैसा पनि भाडा तिरेको छैन । वडा कार्यालय र विद्यालयलाई इन्टरनेट सेवा दिनको लागि सरकारबाट मोटो रकम लिएको टेकमाइन्डले पोल भाडा बुझाउन प्राधिकणलाई अटेर गरेको छ । प्राधिकरणले विगत बर्षहरुमा पोलको दरले भाडा उठाउने गरेकोमा अहिले दुरीको आधारमा भाडा लिने भनेको छ ।

तपाईको प्रतिक्रिया