गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज आइतबार जिल्ला स्तरीय कार्यकर्ता भेला शुरु भएको छ । गाउँ गाउँबाट जनप्रतिनिधि, नेता, कार्याकर्ता होटल टाउन हलमा आउने क्रम जारी रहेको छ ।
भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि जिल्ला जिल्लामा कार्यकर्ता भेलाको आयोजना गर्दै आएको छ ।
नेकपा एमाले माधव नेपालको समानान्तर कमिटीमा रहेका कार्यकर्तालाई गोलबन्द गर्ने उदेश्यले जिल्ला स्तरीय अगुवा कार्याकर्ता भेलाको आयोजना गरिएको हो ।
अगुवा कार्यकर्तालाई सम्बोधन गर्न प्रमुख अतिथिमा नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेत लगायत केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य बलदेव चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राई, केन्द्रीय सदस्य जयन्ती राई, नेताहरु महेश रेग्मी, महपुस मिया लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एस उदयपुरका अध्यक्ष पोखरेलले जानकारी दिए ।










