उदयपुर । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय बालिका कृषला चौधरीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न उदयपुरका थारु संघ संस्थाले माग गरेको छ ।

बालिकाको शव फेला परेको साता दिन विति सक्दा पनि सत्य, तथ्य विवरण सार्वजनिक गर्न ढिलाई भईरहेकोले कतै प्रमाणहरु ढाँक छोप तथा प्रमाण नष्ट गरी दोसीलाई उन्मुक्ती दिन खोजिएको त छैन भन्दै बुधबार थारु कल्याणकारिणी सभा सहितका संघ संस्थाले एक विज्ञप्तीमा जनाएको छ । गत साउन १९ गते रातमाटे खोला छेउमा रहेको सालको रुखको फेदमुनीको खाल्डोमा सामान्य रुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

किशोरीको साउन १३ गते सामुहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको भन्दै यस घटनामा अपराधिलाई जोगाउन र पिडित परिबारलाई न्याय प्राप्तीबाट बञ्चित हुने जस्ता कुनै कार्य कतैबाट नहोस भनि थारु कल्याणकारिणी सभाको जिल्ला सभापति अध्यक्ष शिवकान्त चौधरी, नगर सभापति बेचुदास चौधरी, थारु युवा सभा अध्यक्ष दुलिराम चौधरी, नेपाल थारु पत्रकार संघका अध्यक्ष सुखिलाल चौधरी, प्रगतिशिल थारु समाज उदयपुरका अध्यक्ष तिलाई चौधरी, थारु महिला सभा केन्द्रिय कोषाध्यक्ष विक्रमी चौधरी र मलिथम थारु सेवा समाजका सचिव डिएन चौधरी लगायतले संयुक्त विज्ञप्ती जारी गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘बालिकाको बलात्कार गरि हत्या गरिएको आशंका भएकोले यस्ता खाले घृणित र कलंकित घटनाले समग्र मानव समाजलाई नै डर, त्रास र असुरक्षित बनाइएको छ । बालिकाहरु माथि बलात्कार र हत्या घटनाको श्रृङ्खलाले समाजमा अपराधीहरु मौलाईरहेको बुझिन्छ भने सरकारी संयन्त्र निरिह बन्दै गएको अवस्था देखिन्छ ।’

संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै अवोध बालिका कृषला चौधरीको बलात्कार र हत्या घटनाको सही सत्य तथ्य तथा निष्पक्ष छानविन गरी संलग्न अपराधीहरुलाई कानुनी कठघरामा ल्याई हदैसम्मको कार्यवाही होस भनि हाम्रो संगठन जोडदार माग गरेको छ । कृषला घटना प्रति विभिन्न राजनितीक दलका महिला संगठनहरुको पनि गम्भीर ध्यानाकर्षण भएको छ । एक विज्ञप्तीमार्फत घटना भएको आठौ दिन वितिसक्दा पनि घट्नाको दोषी पत्ता लगाउन नसकेकोले हामी संयुक्त राजनितिक दलका महिला संगठनहरु घट्ना प्रति घोर भत्सना गरेको छ ।

अखिल नेपाल महिला संघका अध्यक्ष गंगा राई, नेपाल महिला संघका तर्फबाट लिला राई, अखिल नेपाल महिला संघ क्रान्तिकारीको तर्फबाट राधा खड्का र राजपा महिला संगठनको तर्फबाट विमला ठाकुरद्वारा जारी संयुक्त विज्ञप्तीमा घटनाको भत्र्सना गर्दै तत्काल अनुसन्धानको दायरालाई फराकिलो, प्रभावकारी र द्रुत गतीमा सत्य तथ्य पत्ता लगाई यथा सिघ्र दोषीलाई काननी कठघरामा ल्याई कारबाही गर्न जोडदार माग गरेको छ । विज्ञप्तीमा घटनालाई बाहिर ल्याउनको लागि अझ बढी तदारुकता देखाई पहल कदमी अगाडी बढाई मृतकको परिवारलाई न्याय र राहतको अनभुती गराउन समेत सम्बन्धित निकायहरुलाई ध्यानाकार्षण गराएको छ ।

पछिल्ला दिनहरुमा देशको विभिन्न स्थान र ठाउँहरुमा महिला तथा बालबालिकाहरु माथि हुने यौनजन्य हिंसा, व्यावहार, हत्या, हिंसा बलत्कार जस्ता जघन्य अपराधका सङ्खलाबद्ध रुपमा घट्नाहरु दिनानु दिन बढ्दै गैरहेकोले यस्ता खालको घट्नाहरु प्रति सबै सरोकारवालाहरुको गम्भीर ध्यान जान आवश्यक र संवेदनसिल हन जरुरी देखिएको विज्ञप्तीमा जनाएको छ ।

यस्तो छ घटना प्रकृति

फोटो क्याम्पस : शव फेला परेको सालको रुखको फेदको खाल्डो नियाल्दै आमा हिरा चौधरी । तस्विर : सुखिलाल चौधरी

गत साउन १३ गते दिउँसो घरबाट हराएकी किशोरीको शब घर नजिकै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा एक हप्तापछि साउन १९ गते फेला परेको थियो । सालको रुखको फेदमा खाल्डोमा सामान्य रुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । जंगलको रातमाटे खोलाको भेलले सखुवाको फेदमा आल्डो पारेको र त्यही शब लुकाउन सामान्य पुरिएको अवस्थामा फेला परेको घटना प्रकृति मुचुल्कामा सनाखत गर्ने त्रियुगा नगरपालिका ६ का वडा सदस्य कृष्ण बहादुर बुढाथोकीले बताए । शवको प्रकृति हेर्दा जंगलमा कतै हत्या गरेर त्यहाँ गाडेको हुन सक्ने जस्तो देखिएको वडा सदस्य बुढाथोकीले बताए ।

शरीरको दाहिने भागको विभिन्न भाग क्षतविक्षेत भएको, अनुहार चिन्न नसक्ने गरी कुचिएको, दुई वटा दाँत झरेको, ढिस्को माटोले आधा शरिर पुरिएको, कम्मरमुनी लुगा नभएको अवस्थामा शव फेला परेको वडा सदस्य बुढाथोकीले बताए । वडा सदस्यले भने, ‘शव गाडेको ठाउँदेखि अन्दाजी पाँच मिटर पूर्व एउटा चप्पलमा पूरै रातोमाटो दलिएको थियो जव कि शव गाडेको नजिक रातो माटो कतै देखिदैन् ।’ मृतकको शव गाडेको भन्दा करिव पाँच सय मिटर माथि उदयपुर सिमेन्ट उद्योगको रातोमाटो खानी रहेको छ ।

देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट शबको पहिचान भएको थियो । किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको आशंका गाउँलेहरुले गरेका छन् । किशोरीको हत्या हुनुमा अन्य कारण नदेखिएको बरु, सामुहिक बलात्कार गरी हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले शब फेला पारी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोली पल्ट साउन २० गते पहिचान गरेको थियो ।

जिल्ला अस्पतालमा शव परीक्षण नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । यतिको दिन वितिसक्दा समेत स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छैन भने अनुसन्धानको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया